दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले इन्धन खर्चको बारेमा चर्को आलोचना आएपछि प्रष्टिकरण दिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विगतका वर्षभन्दा धेरै इन्धन खर्च गरेको र अन्य शीर्षकको बजेट समेत रकमान्तर गरी इन्धनमा खर्च गरेको पाइएको थियो । यस सम्बन्धमा खबरपुञ्ज अनलाइनले समाचार प्रकाशित गरेको थियो ।
नगर यातायात गुरुयोजना, राष्ट्रिय भवन संहिता मापदण्ड कार्यान्वयन, करदाता शिक्षा कार्यक्रम, भैपरी आउने खर्च लगायतमा विनियोजित बजेटको रकम कटौती गरी इन्धन खर्चको रुपमा रकमान्तर गरेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।
चालु आर्थिक वर्ष ०७९÷८० को वैशाखसम्म पेट्रोलतर्फ १२ हजार ९ सय ६० लिटर र डिजेलतर्फ २८ हजार पाँच सय ८६ लिटर खर्च भएको नगरपालिकाको तथ्याङ्कले पुष्टि गरेको छ ।
चालु आर्थिक वर्षको २०७९ साउनमा १२१६ लिटर पेट्रोल र २०४० लिटर डिजेल, भदौमा ९६१.८५ लिटर पेट्रोल र ८१३ लिटर डिजेल, असोजमा १२६२ लिटर पेट्रोल र २१७३.०१ लिटर डिजेल, कात्तिकमा १०५५ लिटर पेट्रोल र २७५५.८९ लिटर डिजेल, मंसिरमा ९०९ लिटर पेट्रोल र ७७८१.१० लिटर डिजेल, पुसमा १७०० लिटर पेट्रोल र २६८२ लिटर डिजेल, माघमा १४३५ लिटर पेट्रोल र २०७०.८० लिटर डिजेल, फागुनमा १३४६ लिटर पेट्रोल र २६१५.८४ लिटर डिजेल, चैतमा १५३१ लिटर पेट्रोल र ३२८२.७६ लिटर डिजेल, २०८० वैशाखमा १५४५ लिटर पेट्रोल र २३७१ लिटर डिजेल खर्च भएको छ ।
यस सम्बन्धमा नगरपालिकाका सूचना अधिकारी लक्ष्मण लम्सालले शुक्रबार विज्ञप्ती जारी प्रष्टिकरण दिएका छन् । उनले इन्धन खर्चका बारेमा सामाजिक सञ्जालमा आएको विषयमा थप सूसुचित गर्न विज्ञप्ती जारी गरेको जनाएका छन् ।
हाल नगरपालिकाको स्वामित्वमा ४५ वटा दुईपांग्रे साधन, तीन वटा स्करपियो, एक वटा बोलेरो जीप, एक वटा सरसफाई टिप्पर, एक वटा डोजर, एक वटा एम्बुलेन्स रहेको उनले जनाएका छन् । स्वीकृत बजेट अन्तर्गतको उल्लेखित सवारी साधन र सरकारी सवारी साधन नहुने कर्मचारीको हकमा तोकेबमोजिम निजी सवारी साधनलाई समेत कुपन प्रदान गरी इन्धन उपलब्ध गराउँदै आएको उनले जनाएका छन् ।
नगरपालिकामा वर्षायाम तथा अन्य अत्यावश्यक समयमा वाटो सरसफाई गर्दा डोजरका लागि नियमित रुपमा हुने ईन्धन खर्च, नगरकार्यालय, वडा कार्यालय तथा सेवा कार्यालयमा कार्यरत कर्मचारीलाई सरकारी तथा निजि सवारी साधनमा उपलब्ध गराईने तोकिएको मासिक ईन्धन खर्च, नगरप्रमुख तथा नगरउपप्रमुख को सवारी साधनको नियमित ईन्धन खर्च साथै उक्त सवारी साधनहरु नगरपालिकाले वार्षिक कार्यक्रम संचालनका क्रममा नियमित अनुगमन, मुल्याकंन तथा औपचारिक तथा अनौपचारिक कार्यमा सहभागि हुदा लाग्ने ईन्धन खर्च, नगरपालिकाको योजना, विद्यालय तथा स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षणका क्रममा लाग्ने सवारीको ईन्धन खर्च, नगरपालिकामा अत्यावश्यक रुपमा प्रयोग हुने जेनेरेटरवापतको ईन्धन खर्च, गौसंरक्षण व्यवस्थापनमा नियमित रुपमा डोजर प्रयोगवापतको हुने नियमित ईन्धन खर्च, प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको क्रममा निर्वाचन अधिकृतको कार्यालय समेत रहेको हुदा उक्त समयको सुरक्षा समन्वय लगायतका प्रयोजनका लागि उपलब्ध गराएको ईन्धन खर्च, ईलाका प्रहरी कार्यालय वेलचौतारा लाई सुरक्षा समन्वय तथा दहत्तर वहत्तर उत्खनन अनुगमनका लाि मासिक रुपमा नियमित उपलब्ध गराईने ईन्धन खर्च, राष्ट्रिय भुमि आयोगसँग सम्बन्धित कर्मचारीहरु फिल्डमा खटिदा नियमित रुपमा उपलब्ध गराईने ईन्धन खर्च उपलब्ध गराउने गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै प्रदेश मन्त्रालय, संघीय मन्त्रालयबाट पाल्नुहुने वहालवाला जनप्रतिनिधि, कर्मचारी, राजनीतिक तथा सामाजिक लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई शिष्टाचार अन्तर्गत प्रदान गरिने ईन्धन खर्च, नगरपालिकाले स्थानीय कर संकलन प्रयोजनार्थ खटिने कर्मचारीलाई नियमित रुपमा इन्धन खर्च उपलब्ध गराउँदै आएको जनाइएको छ ।