‘रुख रोपौं, प्लास्टिकको प्रयोग कम गरौं’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ‘रुख रोपौं, प्लास्टिकको प्रयोग कम गरौं’

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८०, सोमबार

    पोखरा। पोखरामा विश्व वातावरण दिवसको अवसरमा भएको कार्यक्रममा वातावरण जोगाउन प्लास्टिकजन्य सामाग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । शहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या व्यापक छ । ग्रामिण क्षेत्रमा पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

    वातावरण दिवसमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्लास्टिकजन्य फोहोरले दीर्घकालसम्म वातावरणलाई असर पु¥याउनेमा चिन्ता व्यक्त गरिएको छ ।

    वातावरण जोगाएर जस्ताको तस्तै पछिल्लो पुस्तालाई हस्तानतरण गर्न चुनौति थपिएकोसमेत चर्चा गरियो । वातावरण जोगाउन रुख रोप्नुपर्नेमा जोड दिए ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रकृतिलाई जोगाउन रुख महत्वपूर्ण रहेको बताए । ‘रुखले वातावरणमा सकरात्मक प्रभाव पारिरहेको छ’, उनले भने, ‘रुख हाम्रो जीवन र जगतका लागि कति महत्वपूर्ण छ यसले दिने प्राणवायुले नै प्रस्ट छ ।’

    उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव विशाल घिमिरेले वातावरण नबिगारिकन पछिल्लो पुस्तालाई सुम्पनुपर्नेमा जोड दिए । प्लास्टिकको प्रयोग सजिलो भएपनि दीर्घकालिन असरबारे सचेत हुनुुपर्ने उनले बताए ।

    ‘प्लास्टिकका कारणले हाम्रो जीवनयापन एकछिनका लागि सजिलो भाको छ । तर, दीर्घकालिन रुपमा एकदम ठूलो समस्या निम्त्याइरहेको छ’, उनले भने । ४० माइक्रोनभन्दा पातालो प्लास्टिक प्रयोग गर्न रोक लगाएपनि नियमन नहुँदा कार्यन्वयन नभएको उनको भनाइ छ ।
    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले वातावरण जोगाउने जिम्मेवारी हरेक नागरिकको भएको बताए । पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले रोएिका विरुवा जोगाए मात्रै उपलब्धि हुने बताए ।

    अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सदस्य बबरजंग गुरुङले जलवायु परिवर्तन विश्वकै लागि चुनौति थपिएको बताए ।

    अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयको डिपिआर अनुसार नै वृक्षारोपण गरेको बताइन् । तेजपत्ता प्रजातिका २० विरुवा रोपिएको छ । रोपिएको विरुवालाई जोगाएर हुर्काउने न्यौपानले जानकारी दिइन् ।

    संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । आज पोखराका विभिन्न संघसंस्थाले वृक्षारोपण गरेर विश्व वातावरण मनाएका छन् ।

    संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
    पोखरा बर्ड सोसाइटीले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा चरा अवलोकन गरेको छ । सोमबार वातावरण दिवसको छेकोमा सोसाइटीमा आबद्ध चराप्रेमीले संग्रहालय परिसरमा ४४ मिनेट चरा अवलोकन गरे ।
    ३२ प्रजातीको चरा भेटिएको पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार हिमालयन बुलबुल, इन्डियन गोल्डेन ओरियोल, कपरस्मिथ बार्बेट लगायतका चरा देखिएका देखिएका हुन् ।

    ‘अझै बढी चरा देखिनुपर्ने हो । हामीले ७ बजे अगाडि नै अवलोकन गर्दा ३२ प्रजाती देख्यौं । यो संख्या पनि राम्रो हो’, उनले भने, ‘ग्रिष्मकालिन आगन्तुक चराले त गुँड नै बनाएर बसेका रहेछन् ।’

    पोखरामा सन् २०१९ सम्म ४६७ प्रजातिको चरा देखिन्थ्यो । त्यो संख्या बढेर अहिले ४८८ पुगेको छ । पोखरा महानगरपालिका–१७ रातोपहिरोमा रहेको संग्रहालय १०० रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ चाप, सिसौ, पैयु, खयर, लाकुरी, पारिजात , टुनि लगायतका झन्डै ९०० बोटविरुवा छन् । तसर्थ पनि संग्रहालय परिसर चराचुरुङ्गीको बासस्थान बनेको हो ।

    २०६१ साल माघदेखि नेपाल पवर्तरोहण संघले सञ्चालनमा ल्याएको संग्रहालय हिमाल र हिमाली जनजीवन चिहाउने थलो बनेको छ ।