नेपाली नर्सलाई बेलायत पठाउन आवेदन खुल्यो, यस्तो छ प्रक्रिया र सेवा सुविधा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली नर्सलाई बेलायत पठाउन आवेदन खुल्यो, यस्तो छ प्रक्रिया र सेवा सुविधा

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८०, शुक्रबार

    काठमाडौ । बेलायतमा नेपाली नर्सलाई रोजगारमा पठाउन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजी प्रक्रियाअन्तर्गत पाइलट प्रोग्रामको रूपमा प्रारम्भिक चरणमा एक सयजना नर्सलाई बेलायत पठाउन लागेको हो ।

    मन्त्रालयका अनुसार जुलाई २० (साउन ४) देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलिसकेको छ ।

    असार ६ गते बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेको थियो । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको थियो ।

    यस्तो छ बेलायत जान प्रक्रिया

    रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

    के छ सेवा सुविधा

    श्रम मन्त्रालयका अनुसार बेलायती नागरिकले पाउने सेवा-सुविधा र विदेशी नागरिकले पाउने सेवा-सुविधा एकै खालको छ । आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्ने छ ।

    यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् ।