मेस्सीको फ्रिकिक गोलमा मायमी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीको फ्रिकिक गोलमा मायमी विजयी

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८०, शनिबार

    एजेन्सी । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले डेब्यु खेलमा नै फ्रिकिकमार्फत गोल गर्दै इन्टर मायमीलाई जित दिलाएका छन् ।

    लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध २-१ को जित निकाल्ने क्रममा मेस्सीले इन्ज्युरी समयमा गोल गरे । खेल बराबरीतर्फ उन्मुख भएको अवस्थामा मेस्सीले इन्ज्युरी समयको तेस्रो मिनेटमा फ्रिकिकमा गोल गरेका थिए ।

    दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका थिए । उनीसँगै सर्जियो बुस्केट्स पनि मेदन प्रवेश गरेका थिए ।

    खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरले मायमीलाई अग्रता दिलाएका थिए । उनले रबि रबिन्सनको पासलाई गोलमा परिणत गरेका थिए ।

    दोस्रो हाफको ५४ औं मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गरेका थिए । त्यसपछि मायमीले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तर काउन्टरमा क्रुज अजुलले गोल फर्कायो । ६५ औं मिनेटमा जेसस दुएनसको पासमा उरिएल अन्तुनाले गोल गरे ।

    इन्ज्युरी समयमा मेस्सीलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि मायमीले फ्रिकिकको अवसर पाएको थियो । मेस्सीले उक्त फ्रिकिक टप कर्नरमा गोल गर्दै जित दिलाए ।

    कस्तो प्रतियोगिता होल लिग्स कप ?

    अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

    त्यसमध्य अमेरिकाको च्याम्पियन लस एन्जेलस एफसी र मेक्सिको पचुकाले प्रतियोगिताको नकआउट चरण पुग्न बाइ पाएका छन् । एक महिना चल्ने यस प्रतियोगिताको फाइनल अगष्ट १९ मा हुनेछ ।

    सहभागी ४७ मध्य ४५ टोलीलाई ३-३ टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् ।

    मेस्सी सम्मिलित इन्टर मायमी दक्षिण ३ समूहमा रहेको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् ।

    सन् २०१९ देखि सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि मेक्सिकोको क्रुज अजुलले जितेको थियो । सन् २०२० मा कोभिड संक्रमणका कारण हुन नसकेको प्रतियोगिता २०२१ मा मेक्सिकोकै क्लब लिओनले जितेको थियो । सन् २०२२ मा सम्भव नहुँदा यसपटक भने सबै टोली सहभागी हुँदैछन् ।

    लिग्स कपको शीर्ष ३ मा पर्ने टोलीले कन्काकाफ च्याम्पियन्स कपमा छनोट हुनेछ । यो प्रतियोगिता उत्तर, मध्य र क्यारेबियन क्षेत्रको शीर्ष क्लब प्रतियोगिता हो । युरोपमा हुने युरोपेली च्याम्पियन्स लिगजस्तै मेजर लिग सकरका क्लबले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् ।

    सन् २०२० देखि आधिकारिक रुपमा प्रतिस्पर्धामा उत्रिएको मायमीलाई पहिलो उपाधि दिलाउने अवसर पनि मेस्सीसामु छ । अर्जेन्टिना र बार्सिलोनामा सँगै काम गरेका प्रशिक्षक जेरार्डो मार्टिनोसँग मेस्सीलाई नयाँ इतिहास रच्ने अवसर रहेको छ ।