पोखरा । बाढीले क्षति पुर्याएको मुस्ताङको कागवेनी पुर्ननिर्माणमा यूएनडीपीले चासो देखाएको छ । साउन २८ गते कागखोलामा आएको बाढीले कागवेनीमा ठूलो भौतिक क्षति पुगेको छ ।
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्तामा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवासिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबेले मुस्ताङको कागवेनी पुर्ननिर्माण र पुर्नस्थापनामा चासो देखाएका हुन् ।
भेटवार्तामा मुख्यमन्त्री पाण्डेले बाढीले कागवेनीमा ठुलो क्षती पुगेको जानकारी गराए । ‘स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको छ । व्यक्तिगत र सामुदायिक सरकारी संरचना ध्वस्त भएका छन्’, सहयोगका लागि यूएनडीपीको ध्यानाकर्षण गराउँदै उनले भने ।
प्रदेश सरकारको सीमित स्रोत र साधनले पुर्ननिर्माणको काम तत्काल पुरा नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । दातृ निकायले समेत प्रदेश सरकारलाई साथ दिए सहज हुने उनले बताए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारका योजनालाईसमेत प्राथमिकता दिएर सहयोग गर्न उनको अनुरोध छ । ‘प्रदेशभित्रको बसाइँसराइ रोक्न उत्पादनमुखी कार्यक्रममा यूएनडीपीकोको सहयोगको अपेक्षा गरेका छौं’, मुख्यमन्त्री पाण्डेले भने, ‘साना तथा मझौला उद्योगको स्थापना गर्दैै युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिनुपर्नेछ ।’
एनडीपीका नेपाल प्रमुख मिशा ने मेदागंगोडा लाबेले गण्डकी प्रदेशमा सञ्चालन गरिएको परियोजना बारे जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम ल्याउने बताइन् । ‘कागवेनीको पुर्ननिर्माण र पुर्नस्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार छौं’, उनले भनिन् ।
यूएनडीपीले फोहोरमैला व्यवस्थापन, जलवायु परिर्वतन लगायतका कार्यक्रम सञ्चालन गर्ने इच्छा देखाएको छ । कालिगण्डकी करिडोरमा जीवनयापन तथा आयआर्जन सम्बन्धि कार्यक्रम सुरुवात गर्ने उनको भनाइ छ । हिमतालको अध्ययन अनुसन्धान अगाडि बढिरहेको उनले बताइन् ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिमको व्यवस्थापन तथा भू–उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको आवश्यकता रहेको बताए ।