पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आलेले तनहुँको भीमाद नगरपालिका–६ मा पुख्र्यौली घरजग्गा रहेको खुलाएका छन् ।
अर्थमन्त्री आलेले आफ्नो र सगोलमा गरेर भीमाद वडा नम्बर ५ मा ३० वटा कित्तामा जग्गा रहेको उल्लेख गरेका छन् । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको अर्थमन्त्री आलेले बताएका छन् ।
पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
आफ्नो नाममा निजी वन रहेको देखाएका अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् तर प्रयोजन भने खुलाएका छैनन् । आलेसँग एउटा मोटरसाइकल छ । अर्थमन्त्री आलेसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन् ।