दमाैली । तनहुँमा दिनप्रतिदिन डेङ्गु सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि सामूहिक हातेमालो आवश्यक रहेकामा जोड दिइएको छ । डेङ्गु सङ्क्रमणबाट सर्वसाधारणको ज्यान जान थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलबार यहाँ आयोजना गरेको सरोकारवालाको बैठकका सहभागीहरुले डेङ्गु नियन्त्रणका लागि सबै निकायबीच हातेमालो गर्नुपर्नेमा जोड दिइएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले यसमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । उनले भने, “हरेक घर सचेत नभएसम्म यसको नियन्त्रण गर्न असम्भव छ ।” न्यौपानेले डेङ्गु नियन्त्रणका लागि नगरपालिका अन्तर्गतका टोल विकास संस्थालाई परिचालन गरिएको उल्लेख गरे ।
न्यौपानेले ज्वरो आउने बित्तिकै क्लिनिक जाने प्रवृत्तिले खतरा बढेको बताउँदै भने, “दमौलीका क्लिनिक अराजकताको पराकाष्ठा भए । दुई तीन क्लिनिकमा उपचार गरे पश्चात् मात्रै बिरामी अस्पताल आउने गरेका छन् । यसले स्वास्थ्य अवस्था बिगारेको छ ।” दमौलीका क्लिनिकको अनुगमन गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउन न्यौपानेले प्रशासनको ध्यानाकर्षण गराए ।।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गण्डकी प्रदेशमा तनहुँ डेङ्गु प्रभावितमा अग्रस्थानमा रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिए। विशेषगरी दमौली आसपास यसको प्रकोप बढिरहेकाले यसको कारण खोजेर न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने उनकाे भनाइ थियाे ।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सामूहिक हातेमालोका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्तोलाले प्रत्येक वर्ष डेङ्गुको सङ्क्रमण बढेकाले आगामी वर्ष महामारी हुन नदिन पूर्व तयारी आवश्यक रहेको उल्लेख गरे ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले डेङ्गु नियन्त्रणका लागि सचेतनाका कार्यक्रम अगाडी बढाइएपनि न्यूनीकरण हुन नसकेको बताए। अधिकारीका अनुसार आजसम्म जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् ।
स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा. राजिव लालचनले डेङ्गु नियन्त्रणका लागि सामूहिक कार्ययोजना बनाएर काम गर्नुपर्ने सुझाव दिए। घरघरमा गएर खोज र नष्ट गर्ने अभियानसँगै तथ्याङ्क सङ्कलन, निर्माण भएका ठाउँहरुमा पुगेर पानीको स्रोत परीक्षण गर्नुपर्ने, गाडीको ग्यारेज, कवाडीखानामा पानी परीक्षण गर्नुपर्ने, विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले सुझाव दिए ।
दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले दमौली अस्पतालमा परीक्षण गरिएका छ सय ४६ मध्ये चार सय ३६ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। सीमित स्रोत र जनशक्तिका कारण सेवा प्रवाहमा समस्या भएको र अस्पतालमा भीड बढेको डा. बरालको भनाइ थियो ।उनले भने “सर्वसाधारणमा सचेतना बढेका कारण ज्वरो आएपछि अस्पतालमा नै परीक्षणका लागि आउने गर्नुभएको छ । यो राम्रो पक्ष हो ।”
जनशक्तिको अभाव भएकाले गण्डकी प्रदेश सरकारबाट अस्पतालमा एक जना एमडिजिपी चिकित्सक सहित पाँच जना स्वास्थ्यकर्मी परिचालन भएको उहाँले जानकारी दिए। “सङ्घ सरकारले पनि चिकित्सक पठाउने कुरा आएको छ, सङ्घ र प्रदेश सरकार यसका लागि गम्भीर भएर लागिपरेको छ,” डा. बरालले भने।