बौद्धिक छलफल चलाउन रास्वपाले डा. वाग्लेको नेतृत्वमा उपसमिति बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बौद्धिक छलफल चलाउन रास्वपाले डा. वाग्लेको नेतृत्वमा उपसमिति बनाउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन सांसद स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाउने निर्णय गरेको छ।

    बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले स्वर्णिमको नेतृत्वमा सात सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।

    उपसमितिमा रहने सदस्यहरूको नाम तय भइनसकेको र त्यसले तीन दिन बौद्धिक छलफल गरेर राजनीतिक दस्तावेजलाई समृद्ध तुल्याउने सचेतक निशा डाँगीले बताइन्।

    रास्वपाले जनताको आवाज सुन्न केन्द्रीय नेता र सांसदहरूलाई १९ जिल्लामा खटाएको थियो। त्यहाँबाट महत्त्वपूर्ण सुझाव आएको र बौद्धिक व्यक्तिहरूसँग पनि छलफल गर्नु उपयुक्त हुने निष्कर्ष निकाल्दै उपसमिति बनाउन लागेको उनले बताइन्।

    बुधबारको बैठकले असोज मसान्तमित्र पार्टीका सबै सांसदलाई सार्वजनिक सुनुवाइ गरिसक्न निर्देशन दिएको पनि उनले बताइन्।

    त्यस्तै कर्तव्य ज्यानमुद्दामा जन्मकैदको सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’ लाई माफी दिएको विषयमा पार्टीले राष्ट्रपतिको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि उनले बताइन्।

    ‘कुन विधि र पद्धतिमा टेकेर आममाफी दिइएको हो भनेर हामीले राष्ट्रपतिको ध्यानाकर्षण गराउने भएका छौं। साथै यो विषयमा संसदमा संकल्प प्रस्ताव पनि दर्ता गर्ने निर्णय गरेका छौं,’ उनले भनिन्।

    त्यस्तै अभियन्ता ईःले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको उनले बताइन्। ईः र काठमाडौं महानगरपालिकाबीच बुधबार राति नै ४ बुँदे सहमति भए पनि फुटपाथ व्यवसायीलाई विकल्प दिन, उनीहरूको पिर र मर्का नीतिगत तवरबाटै सम्बोधन हुनुपर्ने कुरा बैठकमा उठेको र त्यसका लागि छलफल गर्ने पनि उनले बताइन्। (सेतोपाटीबाट)