काठमाडौं । हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।
यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा यो पटक काठमाडौं नजिकै पर्ने ‘मार्खु’ लाई लिन सकिन्छ ।
मकवानपुर जिल्लामा पर्ने मार्खु काठमाडौंबाट २-३ घण्टामै पुग्न सकिन्छ । दिनभरि घुमेर बेलुकी फर्किन सकिन्छ ।
मार्खु जानको लागि पुरानो बसपार्कको अगाडीबाट सार्वजनिक गाडी जान्छ । बल्खु चोकबाट पनि सार्वजनिक गाडी चढ्न सकिन्छ ।
बल्खुबाट चोभार, फर्पिङ र कुलेखानी ड्याम हुँदै मार्खु पुगिन्छ । मार्खुबाट ७ किलोमिटरसम्म लम्बिएको मानव निर्मित इन्द्र सरोबर ताल सुरु हुन्छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । यो ताल नेपालको एक मात्रै ‘पावर ब्याकअप’ पनि हो ।
मार्खु पुग्नेहरू कुलेखानीका माछा खान्छन्, इन्द्र सरोबरमा डुङ्गा चढ्छन्, फोटो खिच्छन् र आनन्दित भएर फर्किन्छन् । जाडो याममा विशेष गरी क्याम्प फायर गर्न पर्यटक इन्द्र सरोवर पुग्ने गर्दछन् । अझै काठमाडौंबाट चन्द्रागिरि हुँदै हाइकिङ जानेहरू पनि निकै भेटिन्छन् ।
सिम भन्ज्याङ र दामन भ्युटावरबाट समेत पैदल यात्रा गर्दै मार्खुमा आउन सकिन्छ ।
मार्खु पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रमा नयाँ र सुविधा सम्पन्न होटलहरु खुल्न थालेका छन् ।
उपत्यका नजिकको छोटो दूरीमा रहेको प्राकृतिक र भौगोलिक सम्पदा, सांस्कृतिक विविधता र सुन्दरता गाँसिदा गाँसिदै पनि आवश्यक प्रचार प्रसारको अभावमा विकासका दृष्टिले पनि पछि परेको मार्खु एक पटक पुग्नै पर्ने ठाउँ हो । (हिमाल दर्पणबाट)