


काठमाडाै । शनिबारबाट सुरु भएको इजरायल र हमास विद्रोही समूहबीचको युद्ध जारी छ। दुवैतर्फ गरेर अहिलेसम्म १ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।
हमासको आक्रमणपछि इजरायलमा ९०० जना र इजरायलको जवाफी आक्रमणमा ७०० बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। हमासको आक्रमणमा इजरायलमा पढ्न गएका १० नेपाली विद्यार्थीको पनि हमासको आक्रमणमा परेर मृत्यु भएको छ।
दशकौं पुरानो विवादबीच यसपटक हमासको अप्रत्यासित आक्रमणपछि इजरायलले युद्ध घोषणा गरेको थियो। युद्ध लम्बिने संकेत गर्दै इजरायलले हमास नियन्त्रित गाजामा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ। इजरायली रक्षा मन्त्री योभ गलान्तले नाकाबन्दीका क्रममा गाजामा पानी, खाद्यान्न, इन्धन र बिजुली आपूर्ति रोकिने बताएका छन्।
गाजामा करिब दुई करोड ३० लाख मानिस बस्दै आएका छन्। गाजाको हवाई क्षेत्र र पानीका साथै दुईवटा सीमा क्षेत्र इजरायलको नियन्त्रणमा छ।
‘हामी गाजालाई पर्ण रुपमा घेराबन्दी गर्दैछौं। बिजुली, खाद्यान्न पानी सबै बन्द,’ गलान्तले भने।
यता युनिसेफले भने युद्धका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित हुने भन्दै दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
युनिसेफकी कार्यकारी निर्देशक क्याथेरिन रसेलले भनिन्, ‘ सबै युद्धमा सबैभन्दा पहिला र धेरै प्रभावित हुने बालबालिका हुन्। बिजुली, पानी, इन्धन र खाद्यान्न रोकिनुले धेरै बालबालिकाको जीवन खतरामा पर्न सक्छ।’
हमासले इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनीहरुको रिहाई माग गरिरहेको छ। साथै, इजरायलले सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरे बन्धकहरुलाई मार्ने चेतावनी दिएको छ। यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने गाजामा भइरहेको प्रतिकार सुरुवातमात्रै भएको बताएका छन्।
हमास र इजरायल आमनेसामने हुँदा प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बास रसिया भ्रमणमा जाने तयारीमा रहेको रोर्यटसले उल्लेख गरेको छ। वेस्ट बैंकमा उनी नेतृत्वको सरकार छ भने गाजामा हमासले शासन गरिरहेको छ।
क्रेमलिन पुगेर अब्बासले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने जनाइएको छ। तर, उनको यो भ्रमणको औपचारिक पुष्टि रसियाले नगरेको जनाइएको छ। पुटिनले शनिबारको आक्रमणपछि दुवै पक्षलाई युद्धविराम गर्न आग्रह गरिसकेका छन्।