काठमाडौ । आजदेखि कात्तिक ८ गतेसम्म नारायणघाट–काठमाडौ सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ ।
यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो । विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन ।
खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ । दशैँमा काठमाण्डाैबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो । ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागको भनाइ छ । यो सडक खण्डमा अरू बेला पनि हरेक दिन जसो जाम हुने गर्छ ।
विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ । यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ । रुट परमिट आउँदाे कात्तिक १० गतेसम्म खुला रहने छ । रुट परमिट खुला भएसँगै सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने छन् ।
त्यस्तै, असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाण्डाैबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।