भारतका तीन राज्यमा भाजपालाई ‘प्रचण्ड बहुमत’, आगामी लोकसभामा ‘ह्याट्रिक’ गर्ने मोदीको दाबी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतका तीन राज्यमा भाजपालाई ‘प्रचण्ड बहुमत’, आगामी लोकसभामा ‘ह्याट्रिक’ गर्ने मोदीको दाबी

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८०, सोमबार

    काठमाडाै । करिब दुई दशकदेखि भारतको केन्द्रीय शासनमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले प्रमुख तीन राज्यको विधानसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेको छ । आइतबार आएको नतिजाअनुसार भाजपाले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको हो । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कंग्रेस विजयी भएको छ ।

    भारतमा आगामी वर्ष केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावलाई सेमिफाइनलका रूपमा हेरिएको छ । परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने विश्लेषण हुन थालेको छ ।

    हिन्दी भाषी तीन राज्यमा प्रचण्ड बहुमतका साथ चुनाव जितेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ को लोकसभा चुनावमा पनि ‘ह्याट्रिक’ गर्ने दाबी गरेका छन् । ‘बीजेपीले कंग्रेसको पन्जाबाट खोसेर दुई राज्यमा विजय हासिल गरेको छ । मध्य प्रदेशमा दुई दशक गरेको शासनले निरन्तरता पाएको छ,’ जितपछि मोदीले भनेका छन्,’यो जितले सन् २०२४ को ह्याट्रिक सुनिश्चित गरेको छ ।’