काठमाडाै । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको खरिद-बिक्री अस्वाभाविक र जालसाझीपूर्ण भएको भन्दै सत्तारुढ गठबन्धनले तत्काल अध्ययन र छानबिन गर्ने समझदारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बोलाएको बैठकमा सत्तारुढ गठबन्धनभित्र एनसेलको खरिदबिक्री शंकास्पद रहेको भन्दै छानबिन गर्नुपर्नेमा समझदारी बनेको हो ।
प्रधानमन्त्री दाहालले मंगलबार सत्तारुढ गठबन्धन दलका नेताहरूलाई एनसेलको खरिद-बिक्रीबारे छलफल गर्नका लागि बोलाएका थिए । सोमबार बिहान एनसेलका नेपाल प्रतिनिधिलाई बोलाएका प्रधानमन्त्री दाहालले दिउँसो सम्पादकहरूसँगको छलफलका क्रममा अध्ययन र छानबिन गर्नका लागि सरकारी अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिएका थिए ।
सत्तारुढ गठबन्धनमा पनि एनसेलको खरिद-बिक्रीलाई लिएर छानबिन गर्नका लागि प्रधानमन्त्री दाहालले सहमति जुटाएका हुन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशको अधिकतम हितमा हुने गरी अध्ययन तथा छानबिन गर्ने सहमति बनेको जानकारी दिए । गठबन्धनको बैठकपछि उनले भने, ‘एनसेलको विदेशमा भएको खरिदबिक्री स्वाभाविक पाइँदैन भन्ने थियो । जालसाझीपूर्ण देखिएकाले गहिराइमा पुगेर अध्ययन तथा छानबिन गर्नका लागि सहमति जुट्यो ।’
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपालको कानुन बमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल खरिदबिक्री नभएको कुरामा समझदारी बनेको बताए । शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निस्किएको उनको भनाइ थियो ।