बारा । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले कृषिमा यान्त्रिकरण भएमात्रै फड्को मार्न सकिने बताएका छन् ।
कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरमा ‘तराई क्षेत्रका युवा उद्यमी किसान र बेरोजगार युवाका लागि राष्ट्रिय स्तरको सात दिने आवासीय कृषि यान्त्रिकरण तालिम’ को सोमबार समापन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘जबसम्म हामीले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सक्दैनौँ तबसम्म नेपालले कृषिमा फड्को मार्न सक्दैन । यो कुरा मैले विगत लामो समयदेखि उठाउँदै आएको थिएँ । कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्न नसक्दा अबको पुस्ताले कृषिमा भविष्य देख्न छोड्छ ।’
सात दिनसम्म जो–जो प्रशिक्षित भएका छन् सम्पूर्णलाई बधाई दिँदै उनले सिकेको सीपलाई समाजका अन्य युवावर्गलाई पनि प्रवाह गर्न आग्रह गरे । श्रेष्ठले कृषकको आम समस्यालाई स्थायी समाधानका लागि परिणाममुखी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।