आँबुखैरेनीका गुरुङद्वारा खुम्जुङ्गार हिमालको सफल आरोहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आँबुखैरेनीका गुरुङद्वारा खुम्जुङ्गार हिमालको सफल आरोहण

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८०, आईतवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ निवासी प्रकाश गुरुङले ६ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका छन् । जाडो मौसममा हालसम्म आरोहण नगरिएको उक्त हिमालमा गुरुङले शनिबार सफल आरोहण गरेका हुन् ।

    अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण नगरिएको गुरुङको दावी छ । उनले भने, “सात दिनको अवधिमा म र मेरा साथी युक्त गुरुङले यो हिमालको आरोहण गरेका छौ । आरोहण निकै चुनौति थियो तर हामीले सफल बनाएका छौ ।” चिसो मौसममा हालसम्म उक्त हिमालमा आरोहण नगरिएको बताउँदै गुरुङले भने, “हामीलाई यो यात्रामा सहयोग गर्नुहुने परिवार, साथी र सबैप्रति आभार व्यक्त गर्दछौ ।”

    प्रकाश र युक्त सफल आरोहण गरी टाङ्गे गाउँ फर्किएका छन् । निकै चिसो र अल्पाइन शैलीमा आरोहण र खोजी नगरिएको चुचुरोमा पाइला राख्नु रमाइलो भएको गुरुङको अनुभव छ ।

    पर्वतारोहण गाइड गुरुङले गत जेठ महिनामा सगरमाथाको आरोहण गरेका थिए । त्यसक्रममा उनले तनहुँको आँबुखैरेनी गाउँपालिकाको झण्डा सगरमाथामा फहराएका थिए ।

    सन् २०१४ देखि पर्यटन व्यवसायमा आबद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहण सम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । उनले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् ।