नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८०, बिहीबार

    चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्काे एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो । त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ । फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान छ ।

    अबको काम निकै कडा भएकाले समय लाग्ने देखिएको छ । बाँकी दुई मिटर सडक नरोकेरै भत्काउन मिल्ने उनको भनाइ छ । पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उनले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उनको भनाइ छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो ।