तनहुँमा प्रदेश सरकारको सहयोगमा प्रदेशस्तरीय क्रिकेट मैदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा प्रदेश सरकारको सहयोगमा प्रदेशस्तरीय क्रिकेट मैदान

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८१, बिहीबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ । प्रदेश सरकारको गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेश स्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो ।

    त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत् रु ४० लाख बजेट विनियोजन भएको पत्र नगरपालिकालाई प्राप्त भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। पण्डितले भने, “मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम रु ४० लाख बजेट विनियोजन भएको औपचारिक पत्र नगरपालिकालाई आएको छ । क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गर्न तयार रहेका छौ ।”

    नगरपालिकाले उक्त मैदानलाई नगर रङ्गशालाको अवधारणा अनुसार आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट रु ८० लाख बजेट विनियोजन गरेको पण्डितले बताए।

    प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले क्रिकेट खेलमैदान निर्माणका लागि सम्झौता गर्न आउन नगरपालिकालाई परिपत्र गरेको छ । आगामी वैशाख १५ गतेभित्र आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट रु ८० लाख विनियोजन भएको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष २०८१÷८२ मा सो खेलमैदानका लागि नगरसभाबाट बजेट सुनिश्चितता गरिने प्रतिबद्धतापत्र, खेलमैदानको विस्तृत स्वीकृत लागत अनुमान, नक्साको प्रतिलिपि सहित सम्झौताका लागि आग्रह गरिएको मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले जानकारी दिए।