घर जलेका पीडित परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    घर जलेका पीडित परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८१, शुक्रबार

    दमौली । तनहुँको देवघाट गाउँपालिका–४ रातेपानीमा चट्याङले घर जलेर पीडित भएकालाई गाउँपालिकाले आवश्यक राहत सामग्री उपलब्ध गराएको छ । बुधबार राति परेको चट्याङले आगलागी हुँदा घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले बिहीबार आवश्यक राहत सामग्री उपलब्ध गराएको हो ।

    गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले पीडित परिवारको घरमा पुगेर खाद्यान्न, लत्ताकपडा र त्रिपाल सहयोग गरेको जानकारी दिए । उनले भने, “घटना हेर्दा सामान्य देखिएपनि यो निकै ठूलो घटना हो । दुई जना बेहोस अवस्थामा हुनुहुन्थ्यो । उहाँहरुलाई अस्पताल लगेपछि अवस्था सामान्य छ ।” गाउँपालिकाको कार्यविधि अनुसार आफूहरुले सहयोग गर्ने बताउँदै उनले थप सहयोगका लागि विभिन्न सङ्घसंस्थालाई आग्रह गरे ।

    चट्याङबाट घरका आठ जना सदस्यमध्ये तीन जना सामान्य घाइते भएको सो वडाका अध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । उनका अनुसार तुलबहादुर भुजेल, सेनीमाया भुजेल र जुनकिरी भुजेल सामान्य घाइते भएका छन् । अन्य पाँच जना भने शकुसल रहेको गुरुङले जानकारी दिए ।

    चट्याङले काठको बार भएको खरको छानो आगलागीबाट ध्वस्त भएको पीडित सुकबहादुर भुजेलले बताए । उनका अनुसार घर जल्दा रु १६ हजार नगद, चार बोरा चामल, दुई बोरा गहुँ, एक बोरा तोरी, लत्ताकपडा, पाँच जनाको नेपाली नागरिकता र भाडाकुडा जलेर नष्ट भएको छ । उनले सबै गरेर करिब रु दुई लाख बराबरको क्षति भएको जानकारी दिए । (तस्बिर सौजन्य : बिहानी मिडिया)