अपडेट : पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका सातसहित १० जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अपडेट : पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका सातसहित १० जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    पाेखरा । भीषण वर्षापछिको पहिरोमा पुरिएर पोखरामा ७ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका- १९ पुरनचौर तल्लाकोट टारीस्थित ४६ वर्षीय कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिएको हो।

    पहिरोले घर पुरिँदा ४६ वर्षीय कुलबहादुर परियारसहित ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए।

    उनका अनुसार पहिरोमा परेर चितवन घर भई माइती घर आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका अस्मित परियारको समेत ज्यान गएको छ।

    साथै, उद्धार गर्न गएकी छिमेकी ५६ वर्षकी राधिका परियारको ज्यान गएको थापाले बताए। पहिरोमा परेर कुलबहादुरका छोरा १७ वर्षका पवन परियार र राधिकाका छोरा ३१ वर्षका कुमार परियार घाइते भएका छन्। दुवैको उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। अहिले दुवै जना डिस्चार्ज भएका छन्।

    यसैगरी चैनपुरमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ। गएराति करिब २ बजेको समयमा घरपछाडिबाट खसेको पहिरोले पोखरा महानगरपालिका- ३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पछाडिबाट खसेको पहिरोले तीन जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए। अस्मिता र अनुष्का आरतीका छोरी, पुष्कर भतिज हुन्।

    ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ। अस्मिताको सुरुमै मृत फेला परेकी थिइन्। पुष्कर र अनुष्काको शव बिहानपख ५ बजेपछि फेला परेको हो।

    यस्तै, कास्कीको मादी गाउँपालिका- ११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङ वेपत्ता भएकी छन्। उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्।