उपसभामुख प्रकरण: ९ लाख लेनदेन भएको मुकुल ढकालको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपसभामुख प्रकरण: ९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८१, मंगलवार

    काठमाडौ । उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले मुख खोलेका छन् । दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनलेन गरेको आरोपसमेत लगाएका छन् ।

    ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् ।
    रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दावी छ ।

    गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको उनी बताउँछन् ।

    ढकालले यस घटनामा आर्थिक लेनदेन भएको बताएका छन् । उपसधामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दावी छ ।

    उनी लेख्छन्, ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ, तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई‘तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

    यो विषय आफूले अहिलेसम्म गुपचुप राख्नुको कारण भने ढकालले खोलेका छैनन् ।