दमौली । स्रोत नखुलेको करिब रु १२ लाख नगद सहित तनहुँबाट दुई जना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
प्रहरीले निजहरुबाट रु ११ लाख ६५ हजार नगद बरामद गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।