एमसीए नेपालद्वारा ४०० केभी दमौली सवस्टेशनको निर्माण सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमसीए नेपालद्वारा ४०० केभी दमौली सवस्टेशनको निर्माण सम्झौता

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८१, बुधबार

    काठमाडौं । एमसीए-नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ ।

    निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेशन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेशनमध्ये एउटा बन्नेछ ।

    उक्त नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशन बीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्प्सन, एमसीए- नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदम प्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसीए नेपालका अधिकारीहरूको उपस्थितिमा सम्झौता भएको हो ।

    एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्झौतामा बोल्दै ऊर्जा खड्काले यी तीनवटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ ।

    अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसीए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।