प्रेस चौतारीले स्थापना गर्‍यो ५० हजार राशीको ‘शान्ति पाण्डे राष्ट्रिय महिला पत्रकारिता पुरस्कार’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रेस चौतारीले स्थापना गर्‍यो ५० हजार राशीको ‘शान्ति पाण्डे राष्ट्रिय महिला पत्रकारिता पुरस्कार’

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८१, बुधबार

    पाेखरा । प्रेस चौतारी नेपालले राष्ट्रिय महिला पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । नेपालकै चर्चित उद्योगी तथा पूर्वराज्यमन्त्री हरिप्रसाद पाण्डे र उनकी धर्मपत्नीले स्थापना गरेको मातृसेवा प्रतिष्ठानको सहयोगमा प्रेस चौतारी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनासहित कोष स्थापना गरिएको हो ।

    पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयाँ रहेको छ । सो पुरस्कारको नाम डा. शान्ति पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार रहेको छ । पुरस्कारको अक्षयकोष स्थापनाका लागि पोखरामा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डे र प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्ष गणेश बस्नेतले संझौतापत्रमा हस्ताक्षर गरे । संझौता पत्रमा पाण्डेकी पत्नी तथा सो संस्थापकी उपाध्यक्ष तुलसी पाण्डे र प्रेस चौतारी नेपाल केन्द्रीय महिला विभाग प्रमुख जमुना बर्षा शर्माले पनि हस्ताक्षर गरे ।

    प्रेस चौतारी नेपालले प्रत्येक बर्षको माघ २२ गते प्रदान गर्ने सो पुरस्कार महिला विभागको पहिलमा स्थापना गरिएको हो । पुरस्कार प्रदान गर्नका लागि पाण्डे परिवारले ५ लाख रुपैयाँको चेक प्रेस चौतारी नेपाललाई हस्तान्तरण गरेको छ भने १० बर्षसम्म प्रत्येक बर्ष ५ हजार १ सय ११ रुपैया प्रदान गर्नेछ ।

    आज आयोजित कार्यक्रममा उपलब्ध गराइएको चेक मुद्धती खातामा राखेर १० बर्षसम्म ब्याजसमेत जम्मा गरी त्यसपछि ब्याजबाट प्रत्येक बर्ष एक जना महिला पत्रकारलाई ५० हजार १ सय ११ रुपैयाँको पुरस्कार प्रदान गरिने प्रेस चौतारी महिला विभाग प्रमुख शर्माले जानकारी दिइन् ।

    उद्योगपति पाण्डेले आफ्नी साइली छोरी डा. शान्ति पाण्डेको नाममा सो पुरस्कार स्थापना गर्न प्रेस चौतारी नेपाललाई अक्षयकोषका लागि रकम हस्तान्तरण गरो हुन् । डा. पाण्डेको २०६१ असार ४ गते पोखरामा स्कुटर दुर्घटनामा परी निधन भएका थियो । दुर्घटनामा ज्यान गुमाएकी छोरी शान्तिको स्मृतिका लागि देशभर कार्यरत महिला पत्रकारमध्ये उत्कृष्ट एक जनालाई राष्ट्रिय महिला पत्रकारिता पुरस्कार प्रदान गर्न प्रेस चौतारीलाई सहयोग गरेका हुन् ।

    उद्योगपति पाण्डे २०५१ सालमा गठित नेपालको पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री थिए । सफल उद्योगपतिको रुपमा स्थापित पाण्डेले आफू र परिवारले प्रेस चौतारीले आफूहरुको भावनाको कदर गरी पुरस्कारलाई निरन्तरता दिने विश्वाससहित अक्षयकोष स्थापनाका लागि सहयोग गरेको बताए ।

    छोरी शान्तिको जन्मदिनकै अवसर पारेर उनले आज प्रेस चौतारी नेपाललाई अक्षयकोष स्थापनाका लागि ५ लाखको चेक हस्तान्तरणसहित १० बर्षसम्म आफूले उपलब्ध गराएको ५ लाखको ब्याज पनि बैंकमा जम्मा हुने गरी प्रत्येक बर्ष पुरस्कारको राशी आफूहरुले उपलब्ध गराउने जानकारी दिए ।

    प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संगठनलाई बिश्वास गरेर पुरस्कारको अक्षयकोष स्थापनाका लागि सहयोग गरेकोमा पाण्डेसहित परिवारलाई धन्यवाद दिए ।

    कार्यक्रममा अग्रज पत्रकार रामकृष्ण ज्ञवाली, बद्रिबिनोद प्रतीक, दीपेन्द्र श्रेष्ठ, गंगाधर पराजुली, प्रेस चौतारी नेपालकी सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज सुष्माकुमारी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, प्रेस चौतारी नेपालका गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस काउन्सिल सदस्य तथा प्रेस चौतारी नेपालकी पूर्वसचिव दुर्गा भण्डारी, केन्द्रीय सदस्य कञ्चन थापा कोइरालालगायतका बक्ताहरुले पाण्डे परिवारलाई धन्यवादसहित पत्रकारिता क्षेत्रको बिषयमा सुझाव राखेका थिए ।

    प्रेस चौतारी नेपाल महिला विभागकी प्रमुख जमुना बर्षा शर्माले पुरस्कार स्थापनाका लागि गरेको योगदानको सबै वक्ताहरुले खुलेर प्रसंशा गरेका थिए ।

    कार्यक्रममा महिला विभाग प्रमुख शर्माले सो पुरस्कार कोष सञ्चानका लागि प्रेस चौतारी नेपालका अध्यक्ष, निवर्तमान अध्यक्ष, महासचिव, कोषाध्यक्ष र महिला विभाग प्रमुख रहेको सञ्चालक समिति रहने व्यवस्था गरिएको जानकारी दिइन् ।