


काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी छन् ।
त्यस्तै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।