दमाैली । साउन महिनाको चार वटा सोमबार बोलबम मेला भर्न तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा एक लाख ३५ हजार भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिका अनुसार साउनको अन्य सोमबारको तुलनामा अन्तिम सोमबार आज मात्रै ५० हजार भक्तजन आएका छन् ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार आज बिहानैदेखि भक्तजनको आगमन भएको थियो । दिउँसोसम्म पनि भक्तजनको बाक्लो चहलपहल रहेको बरालले बताए । उनले भने, “आज भक्तजनको राम्रो उपस्थिति रह्यो, कुनै अप्रिय घटना घटेन ।” साउनको पहिलो सोमबार २५ हजार, दोस्रो सोमबार २५ हजार र तेस्रो सोमबार ३५ हजार भक्तजनको आगमन भएको थियो ।
पहिलो सोमबार भने सोचे अनुरुपको भक्तजन नआएको बरालको भनाइ छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर दुई वटा बससहित यात्रुहरुलाई बगाएर बेपत्ता बनाएको घटनाले पहिलो सोमबार देवघाटमा भक्तजनको सङ्ख्यामा कमी आएको हो ।
नदीमा डुबेका बसका २५ जना यात्रुहरु त्रिशुली तथा नारायणी नदीको किनारका विभिन्न स्थानमा भेटिएपछि त्रिशुली नदीको किनारमा सर्वसाधारणहरु जान डराएका थिए । समग्रमा सोमबारको बोलबम मेला सोचे अनुरुप नै सफल भएको बरालको भनाइ छ ।
चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश विदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको बताइन्छ ।
साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । बोलवमको मेला देवघाटको धार्मिक पर्यटन प्रबद्र्धनका लागि निकै महत्वपूर्ण मानिन्छ । मेलाको प्रभावकारी व्यवस्थापनकै कारणले देवघाटको धार्मिक पर्यटनको विकास हुन्छ ।
मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । भक्तजनको सुरक्षाका लागि नदी किनारमा बिजुली बत्तीको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको छ भने इलाका प्रहरी कार्यालय देवघाट मार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ ।
देवघाटमा हरेक वर्ष साउन महिनाको सोमबार बोलबम मेला लाग्ने गर्छ । साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोगहरु निको हुने जनविश्वास रहँदै आएको छ ।