दमाैली । बडादसैंले सबैलाई छाेएकाे छ । सबै जना दसै मनाउन व्यस्त छन् । बडादसैकाे दशाै दिन शनिबार सबै जना टिकाकाे तयारीमा जुटेका छन् ।
तर दमाैलीका युवा अभियान्ता सुदीप गफ्फार भने दमाैली बजारमा लत्रिएका तारहरु व्यवस्थापन गर्न बिहानैदेखि जुटेका छन् । मुग्लिन पाेखरा सडक विस्तारका क्रममा सडकका दायाबायाँ रहेका पाेल स्थानान्तरण गरिएपछि इन्टरनेट, केबलका तार जथाभावी लत्रिएपछि गफ्फार त्यस्ता तारकाे व्यवस्थापनमा जुटेका हुन् ।
सम्बन्धित निकायलाई तार व्यवस्थापनका लागि आग्रह गरेपनि सुनुवाई नभएपछि उनी एक्लै यसकाे व्यवस्थापनमा जुटेका हुन् । ‘काम गर्नुपर्ने निकायले नगरेपछि दुर्घटना नहाेस् भन्नका लागि म आफै तारकाे व्यवस्थापनमा जुटेकाे हूँ । जथाभावी लत्रिएका तारले दुर्घटनाकाे जाेखिम बढाएकाे छ । हिँड्दा हिँड्दै तारमा अल्झिएर मानिस लड्न सक्छन् । सवारी साधन दुर्घटनामा पर्न सक्छ,’ उनले खबरपुञ्जसँग भने ।
दमाैलीस्थित मुख्यचाेक, सफासडक, बागबजार क्षेत्रमा जथाभावी लत्रिएका तारलाई एकै ठाउँमा जम्मा गरेर उनलाई तारलाई बाँधेर व्यवस्थित गराइदिएका छन् । ‘खासमा तार लत्रिएकाे घर अगाडीका स्थानीयले पनि यसमा ध्यान दिनुपर्ने हाे । तर कसैले गरेन भनेर म चुप लागेर बस्न सकिँन,’ उनले भने ।
गफ्फारले बिहीबार र शुक्रबारमात्रै व्यास नगरपालिका र भानु नगरपालिकाका १५ विपन्न परिवारलाई दसैकाे अवसर पारेर खाद्यान्न सहयाेग गरेका थिए । त्यसक्रममा ४० हजार बराबरकाे खाद्यान्न सहयाेग गरिएकाे थियाे ।
विपन्नलाई खाद्यान्न सहयाेग, बुल्दी चुँदी खाेला सरसफाई अभियान, राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकलाई निशुल्क खाना, बिरामीलाई अस्पतालसम्म ल्याउन सवारी साधनकाे व्यवस्थापन गरेर गफ्फार सामाजिक काममा सक्रिय छन् ।