अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को साधारणसभा सम्पन्न, पछिल्लो वर्षमा १६ सदस्य थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को साधारणसभा सम्पन्न, पछिल्लो वर्षमा १६ सदस्य थप

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८१, सोमबार

    काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को तेस्रो  साधारणसभा सम्पन्न भएको छ । नेपालमा अमेरिकी लगानी भित्र्याउने र दुई देशबीच व्यावसायिक सम्बन्ध स्थापना गर्ने उद्देश्यले स्थापना भएको एमच्यामको साधारणसभामा पछिल्लो एक वर्षको समीक्षासहित भावी कार्ययोजना समेत प्रस्तुत गरियो ।

    कार्यक्रममा बोल्दै युएस च्याम्बर अफ कमर्स, दक्षिण एसियाका कार्यकारी निर्देशक सिद्धान्त मेहराले नेपालमा स्थापनाको छोटो समयमा एमच्यामले खेलेको भुमिकाको प्रशंसा गरे ।
    एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सन् २०२४ एमच्यामका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ अवसर सृजना गर्न, नेपाल र अमेरिकाको व्यापारिक सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ क्रियाशील रहेको बताए । एमच्यामले नेपालमा विदेशी लगानीका लागि देखिएका समस्या समाधानका विभिन्न विषयमा पैरवी गर्नुका साथै उच्चस्तरीय भेटघाट समेत गर्दै आएको श्रेष्ठले उल्लेख गरे ।

    अध्यक्ष श्रेष्ठले सन् २०२१ मा अजित बिक्रम शाहको नेतृत्व र नेपालस्थित अमेरिकी दूतावासको अभूतपूर्व सहयोगमा स्थापना भएको एमच्याम आज बहुआयामिक र प्रभावशाली व्यावसायिक समूहका रुपमा स्थापित भएकामा खुसी व्यक्त गरे ।

    त्यसअवसरमा पछिल्लो एक वर्षमा एमच्यामले विभिन्न ५८ पटक औपचारिक रुपमा सदस्यको हितमा पैरवी गरेको जनाएको छ । यसबीचमा २० वटा उच्चस्तरीय भेटघाट, विभिन्न विषयमा ६० वटा आलेखमार्फत पैरवीलाई अघि बढाएको जनाएकोछ । यसबीचमा एमच्यामले कोषमा ३१.५ लाख रुपैयाँ जम्मा भएको उल्लेख गरेको छ ।

    एमच्यामले पछिल्लो एक वर्षमा १६ वटा नयाँ सदस्य थप गरेको छ । सन् २०२३ मा ३८ वटा सदस्य रहेकामा अहिले उक्त संख्या बढेर ५४ पुगेको हो । नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि सरोकारवाला पक्षसँग विभिन्न समयमा छलफल, अन्तरक्रिया तथा बहस गर्दै आएको एमच्यामका महाप्रबन्धक अमिरराज थापाले जानकारी दिए । 

    एमच्यामले वर्षभरी नै विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममार्फत सक्रियता जारी राखेको जनाएको छ । गत अप्रिलमा संस्थाले यूएस चेम्बर अफ कमर्शका एम्ब्यासडर अतुल केशवसँग नेपाल–अमेरिकाबीचको व्यापारिकसम्बन्धमा अन्तरक्रिया गरेको थियो भने सदस्यहरुसँग युनाइटेड स्टेट पेटेन्ट एण्ड ट्रेडमार्क कार्यालय र यूनाइटेड स्टेट ट्रेड एण्ड डेभलपमेन्ट एजेन्सीसँग पनि अन्तरक्रिया भएको एमच्यामले उल्लेख गरेकोछ । 

    त्यसैगरी गत अप्रिलमा एमच्यामका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्नुका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री रेखा शर्मा र सचिवालय, ऊर्जा तथा सिँचाइ मन्त्री तथा अमेरिकास्थित स्टेट डिपार्टमेन्टका अधिकारीहरुसँग वासिंटन डिसीमा समेत भेटवार्ता तथा छलफल गरेको एमच्यामको भनाइ छ ।

    एमच्यामले प्रविधिको बढ्दो प्रयोग र सम्भावनालाई मध्यनजर गर्दै सन् २०२४ मा लगानी सम्मेलनको पूर्वसन्ध्यामा टेक पिक आइसिटी सम्मेलनको समेत आयोजना गरेको थियो । एमच्यामले यस अवधिमा युएसएड, विश्व बैंक, यूरोपियन यूनियन, एसियाली विकास बैंकका साथै सरकार र निजी क्षेत्रलाई एकै थलोमा ल्याउन सफल भएको उल्लेख गरेको छ । 

    त्यसका साथै प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरी अमेरिकी लगानी भएका कम्पनीहरुलाई नेपालमा प्रवद्र्धनका लागि सहजीकरणको भूमिका समेत निर्वाह गरेको उल्लेख गरेको छ । त्यसका साथै एमच्यामले अमेरिकी कम्पनीमा लगाइएको मूल्य अभिवृद्धि करका विषयमा सरोकारवाला पक्षहरुले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरी सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेको छ । त्यसका साथै ट्रेड नीतिसम्बन्धी अनुसन्धान, ट्रान्सफर प्राइसिङलगायतका विषयमा समेत काम गरिरहेको जनाएको छ । 

    एमच्यामले आफ्ना सदस्यहरुबीच सम्बन्ध सुदृढीकरण र आन्तरिक सञ्जाल विस्तारका लागि लर्निङ सिरिजलाई गत वर्ष पनि जारी राखेको थियो । जसमा नवौँ मेम्बर लर्निङ सिरिज डियर होल्ड कम्पनीमा जनवरी २०२४ मा आयोजना गरिएको थियो भने १०औँ शृंखला सिटी होटलमा आयोजना गरिएको थियो । त्यसैगरी ११औँ शृंखला गत मेमा होटल अलफ्ट र १२औँ शृंखला डाइ काठमााडौँमा अगष्टमा आयोजना गरिएको थियो । १४औँ शृंखला भने फ्लेक्स टेक्समा आयोजना गरिएको थियो । 
    एमच्यामले एक्सपर्ट लर्निङ सिरिजलाई निरन्तरता दिएको छ । यसबीचमा एमच्यामले नेपाल उद्योग परिसंघ (सीएनआई) र द नेपाल प्राइभेट इक्विटी एसोसिएसनसँग पनि सम्झौता गरेको छ । साथै अमेरिकाको व्यापार विभागको द इन्टरशेनल ट्रेड एड्मिनिस्ट्रेसन पनि एमओयू गरेको एमच्यामले जनाएको छ ।  

    एमच्यामले गत सेप्टेम्बरमा भारतको राजधानी दिल्लीमा आयोजित यूएसआईबीसी कार्यक्रममा सहभागिता जनाएको थियो । एमच्यामले हाल नेपालमा लगानीका लागि विभिन्न छ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । जसमा पर्यटक, आईसिटी, ऊर्जा, उत्पादनमुलक उद्योग, पूर्वाधार विकास र वित्तीय क्षेत्र रहेका छन् । 

    एमच्यामले हाल आफूहरुले ट्याक्स कम्प्लायन्स, स्वेट इक्विटी, आइटी र साइबर सेक्युरिटी बिल, सोर्स कोड अनरसिप, इकमर्श बिललगायतमा नीतिगत रुपमा पैरवी गर्दै आएको छ । साथै नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानी प्रतिबन्धलाई हटाउन र विदेशी मुद्राको कारोबारमा सहजीकरणका लागि पैरवी गर्दै आएको छ । एमच्यामले सन् २०२५ मा गर्ने मुख्य कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । जसमा टेक पिक नेपाल, २०२५, नेपाल–यूएस रोड शो,  एसएसओडब्ल्यू सम्मेलन, २०२५ लगायत छन् ।