दमाैली । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी थापाले आइतबार आयोजनाको अनुगमन गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी थापाले आयोजनाको प्याकेज १ अन्तर्गत बाँध निर्माणस्थल र आयोजनाको प्याकेज २ अन्तर्गत भूमिगत विद्युतगृहको अनुगमन गरेका थिए ।
राष्ट्रिय गौरवप्राप्त तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै प्रमुख जिल्ला अधिकारी थापाले आयोजना निर्माणका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
त्यसक्रममा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको प्रगतिबारे जानकारी गराउँदै भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका थिए ।
आयोजनाका प्रमुख भण्डारीले तीनवटै प्याकेजको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । त्यस्तै प्याकेज १ अन्तर्गत बाँध निर्माणमा ३५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणमा ६६ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको भण्डारीले उल्लेख गरे । विद्युतगृहको भौतिक काम सकिएर उपकरण जडानको काम सुरु भएको भण्डारीले जानकारी दिए ।
प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्य ढिलाइ हुँदा काममा केही ढिलाइ भएको छ । त्यसका लागि आयोजनाले सम्बन्धित निकायहरुसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको भण्डारीको भनाइ छ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।