दमाैली, ११ चैत । तनहुँका विभिन्न ठाउँमा मङ्गलबार दुई घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार कार्य अन्तर्गत दमौलीस्थित जोशी पेट्रोल पम्प तथा बसपार्क जाने बाटो नजिक राजमार्गको क्रसिङ मालेबगरमा ३३ केभी लाइन तान्ने कार्यका लागि भोर्लेटारचोकदेखि पूर्वका क्षेत्रमा मङ्गलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
दमौली फिडरबाट विद्युत आपूर्ति हुने भादगाउँ, गल्वुवेसी, मालेबगर, तालघरे लगायतका स्थानमा विद्युत अवरुद्ध हुने वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए।
वितरण केन्द्रका अनुसार थर्पु, छाब्दी र सोतीपसल फिडरमा जडान भएको अटोमेसनका सामान परीक्षणका लागि थर्पु फिडर अन्तर्गत बिहान ११ बजेदेखि १२ बजेसम्म, छाब्दी फिडर अन्तर्गत दिउँसो १ बजेदेखि २ बजेसम्म र सोतीपसल फिडर अन्तर्गत दिउँसो २ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने जनाइएको छ ।