छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८१, बिहीबार

    दमौली, १४ चैत । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै यहाँका स्थानीयवासीको आर्थिकस्तर उकास्ने उद्धेश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।

    आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    उनले भने, “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडी बढ्छौ ।” गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडी बढाएको चुमानको भनाइ छ ।

    चुमानले सङ्घीय, प्रदेश, स्थानीय तहको सरकारको साझेदारी, आम जनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरिएको चुमानले बताए ।

    छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत समस्या, मोवाइल टावर समस्याको रुपमा रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने बताए । सडक सञ्जाल स्तरोन्नतिको क्रममा रहेको बताउँदै चुमानले खानेपानीको बजेट स्रोत भएर डिपीआर गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए ।

    छिम्केश्वरीमा पानीको अभाव हुँदा विकास निर्माणको काममा समेत बाधा पुग्दै आएको छ । खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भइ डिपिआरको चरणमा रहेको चुमानको भनाइ छ । उनले भने, “वडा नम्बर ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडी बढाउन डिपिआर भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आव्हान हुनेछ ।” उनका अनुसार खानेपानीका लागि करिब रु दश करोड लाग्ने अनुमान छ ।

    छिम्केश्वरीमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुँदै आएको बताउँदै टेलिकमको टावर राख्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पहल भइरहेको चुमानले जानकारी दिए ।

    छिम्केश्वरी क्षेत्रमा विद्युत सुविधा नपुग्दा सोलारबाट काम चलाउनुपर्ने अवस्था रहेकाले विद्युत सुविधा विस्तारका लागि विद्युत प्राधिकरणसँग समन्वय गरिएको चुमानले बताए ।

    छिम्केश्वरी मन्दिरभन्दा थोरैमाथि रहेको बुढीमाइमा ध्यानगृह बनाउने लक्ष्य राखिएको छ । उनले भने, “बुढीमाइमा मन्दिर निर्माण नगर्ने तर अन्य पूर्वाधार निर्माण गर्ने योजनामा जुटेका छौ ।”

    छिम्केश्वरीमा हाल वार्षिक रुपमा एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्ष लगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए ।

    आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«े लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ ।

    छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।