


काठमाडौ, २२ चैत । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग माफी मागेका छन् ।
बिहीबार मेयर बालेन्द्र साहको आदेश भन्दै गुरागाईंलाई कार्यालय छिर्न नदिन सयौँको संख्याका नगरप्रहरीसहित कमलादीस्थित कार्यालयमा तैनाथ भएका उनले शुक्रबार गुरागाईंसँग माफी मागेका हुन् ।
शुक्रबार प्रमुख प्रशाकीय अधिकृत गुरागाईं कार्यालय समय सुरू हुनेबित्तिकै कमलादीस्थित कार्यालयमा पुगेका थिए । उनले त्यहाँ पुगेर महानगरको रोकिएको खर्च निकासाका लागि हस्ताक्षर गरेका छन् ।
उनले हस्ताक्षर गरेसँगै अब काठमाडौं महानगरका कर्मचारीको ३ देखि ६ महिनासम्म रोकिएको सबै तलब सोमबारसम्म खातामा जाने भएको छ । आइतबार बिदा भएकाले सोमबार कर्मचारीको तलब जाने गुरागाईंको सचिवालयले जानकारी दिएको छ ।