दमाैली, ७ वैशाख । डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१० कालीमाटी नेपालडाँडामा आइतबार माइक्रो र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोमा सवार एक जना र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको प्रनाउ थापाले बताए ।
माइक्रोमा सवार व्यक्तिको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको उनकाे भनाइ छ । स्कुटर चालक गम्भीर घाइते भई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
माइक्रो चालक सिन्धुपाल्चोकका मानबहादुर घले पुर्कोट प्रहरी चौकीको नियन्त्रणमा छन् ।
तस्बिर स्राेत : लाेकदृश्य न्युज