पोखरा, २३ वैशाख । पोखरा–१७ बिरौटाका ५७ वर्षीय ऋषिराम बरालले ३७ वर्षीय श्रीमती देवी पराजुली बरालको हत्या गरेर आत्महत्या गरेका छन्।
सोमबार दिउँसो घर झगडा भएपछि ऋषिरामले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। त्यसपछि उक्त हतियारले आफूलाई पनि प्रहार गरेको र विष सेवन गरेको अवस्थामा भेटिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
उनका अनुसार श्रीमतीको अनुहारमा धारिलो हतियारको चोट देखिएको थियो भने श्रीमानको पनि घाँटीमा धारिलो हतियारको चोट र विष सेवन गरेको अवस्थामा भेटिएको थियो। प्रहरीले उनीहरू दुबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको थियो।
अस्पतालका डाक्टरले श्रीमतीको मृत्यु भइसकेको जानकारी दिएका थिए। श्रीमानको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना भएको घरको बाथरूममा एउटा र बाहिर ढोकामा एउटा गरी २ वटा रगताम्म अवस्थामा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको प्रहरीले जनाएको छ। घरझगडा भएपछि उक्त घटना भएको जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौला नेतृत्वको टोली घटनास्थलमा खटिएका थिए।
बिरौटास्थित घरमा भएको उक्त घटनामा दुबै जना रगताम्मे अवस्थामा भेटिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार श्रीमान र श्रीमती निरन्तर झगडा भइरहने गरेको जनाएको छ। झगडाका क्रममा श्रीमान ऋषिराम बेलाबखत घर छाडेर हिड्ने गरेका थिए। दुइवटा श्रीमती रहेका ऋषिराम कान्छी श्रीमतीसँग बिरौटा बस्दै आएका थिए। उनीहरुले फेन्सी पसलसमेत चलाएको प्रहरीले जनाएको छ। (सेतोपाटीबाट)