काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको बताएकी छन् ।
राष्ट्रियसभाको मङ्गलबारकाे बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले प्रस्तुत नीति कार्यक्रम वितगका भन्दा वैज्ञानिक, यथार्थ धरातलमा टेकेको र सान्दर्भिक रहेकाले विरोध गर्नुपर्ने कारण नरहेको बताइन् ।
“यथास्थितिबाट जनतालाई समृद्ध र सुखी बनाउन सक्दैनौँ, त्यसैले हामीले अङ्गाल्दै आएको विकासको ढाँचामा कमजोरी भएको विषयलाई नीति तथा कार्यक्रमले आत्मसात् गरेको छ”, नीति तथा कार्यक्रमको स्वागत र समर्थन गर्दै मुख्य सचेतक न्यौपानेले भनिन्, “सङ्घका १८ हजार आयोजनामध्ये कतिपय आयोजना अलपत्र र अनावश्यक छन्, त्यसकारण सोचेजस्तो विकास हुन सकेको छैन, अब विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पहिलोपटक नीति कार्यक्रमले आत्मसात् गरेको छ ।”