दमाैली, २६ वैशाख । नेकपा (एकीकृत समाजवादी) पहिलो चरणको आन्दोलनमा छ । पहिले चरणको आन्दोलनको कार्यक्रमको सिलसिलामा एकीकृत समाजवादी पार्टीले संघ, प्रदेश र जिल्ला तहसम्म ज्ञापनपत्र मार्फत सरकार समक्ष आफ्ना एजेन्डा प्रस्तुत गर्ने र आम नेपाली जनतालाई सुसूचित गर्ने काम पूरा गरेको छ र अहिले पालिका स्तरमा ज्ञापनपत्र मार्फत स्थानीय तहका समस्याहरू बारे सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदैछ ।
सोही सिलसिलामा नेकपा एकीकृत समाजवादी भानुले नगर प्रमुख आनन्दराज त्रिपाठी समक्ष आफ्ना एजेन्डा सहितको ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापनपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ मूल नाराको साथ स्थानीय सरोकारका तेह्र बुँदा समेटिएको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज विद्या ढकाल, जिल्ला र नगरका नेताहरूको उपस्थितिमा नगर कमिटी अध्यक्ष ऋषिराम पन्तले वाचनका साथ सो ज्ञापनपत्र बुझाएका हुन् ।
सो समयमा केन्द्रीय सदस्य विद्या ढकालले ज्ञापनपत्रमा जनतासँग जोडिएका विषय रहेकाले कार्यान्वयनका लागि नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख त्रिपाठीले ज्ञापनपत्रमा उठाइएका विषय सम्बोधन गर्ने बचनबद्दता जनाएका थिए ।