दमाैली, ३ असार । तनहुँको व्यास नगरपालिका–१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा मङ्गलबार एक पुरुष व्यक्तिको शव फेला परेको छ । अन्दाजी ४५÷५० वर्षीय पुरुषको शव नदीको छेउमा भेटिएको हो ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल जाँच साथै मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको र हालसम्म उक्त शवको सनाखत हुन नसकेको प्रनाउ थापाले बताए ।
पाँच फिट पाँच इन्च अग्लो उक्त व्यक्तिले शरीरको माथिल्लो भागमा आकाशे निलो रङ्गको टिसर्ट लगाएको, उक्त टिर्सटको अगाडी दाहिने भागमा नो स्मोकिङ लेखेको लोगो रहेको र बायाँभागमा एचटिएमसी २४ र चिनियाँ अक्षर लेखिएको प्रहरीले जनाएको छ ।