दमाैली, ४ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो लगायतका जोखिम रहने भएकाले मादी, सेती, मस्र्याङ्दी, त्रिशुली, कालीगण्डकी नदी लगायत स्थानीय खोलाहरमा पानीको सतह बढी जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
प्रशासकीय अधिकृत सिर्जना रेग्मीले आइतबार विज्ञप्ती जारी गरी नदी तथा खोला आसपास तटीय क्षेत्रका वासिन्दाहरु सतर्क रहन साथै पृथ्वीराजमार्ग, डुम्रे वेसीशहर सडकखण्ड लगायत स्थानीय ग्रामीण सडकहरुमा सवारीसाधन चलाउँदा उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । रातको समयमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र गर्नैपरेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेरमात्र यात्रा गर्न आग्रह गरिएको छ ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म अत्याधिक देखि हलुका वर्षा हुने अनुमान गरेको छ । तनहुँ जिल्लामा पनि शनिबार रातिदेखि वर्षा भइरहेको छ ।