रामेछाप, ८ साउन । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारदेखि वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।
पछिल्लो समय सरकारी सेवासहित विभिन्न प्रशासनिक सेवामा अनिवार्य बनाउँदै लगिएको राष्ट्रिय परिचय पत्रको अफलाइन फोटो खिच्न र बनेका डिजिटल कार्ड वडा तहमै पुगेर वितरण थालिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
रामेछापको सुनापति गाउँपालिका-५ बाट सुरु भएको अभियान जिल्लाभर सञ्चालन हुनेछ । पालिकामा दुई हजार २०० कार्ड वितरण गरिने प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ । ‘नागरिकहरूलाई घरदैलो मै सेवा दिनु पर्छ भने वडा तहमा जाने निर्णय गरेको हुँ, वडा तहमा जाने राष्ट्रिय अभियान नभए पनि रामेछापमामात्र सुरु भएको हो । एउटा वडामा कम्तीमा २/२ दिन बस्ने र नबनाएकाहरूको अफलाइन फोटो खिच्ने, बनेर आएका कार्ड वितरण गर्ने दुवै काम गर्छौं’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।