बाराका किसानलाई सांसद श्रेष्ठको मल्हमपट्टी: आफ्नै पहलमा गरे नहर सफा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाराका किसानलाई सांसद श्रेष्ठको मल्हमपट्टी: आफ्नै पहलमा गरे नहर सफा

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८२, बुधबार

    काठमाडौ, १४ साउन । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्नै पहलमा नहर सफा गरेर कृषकहरुलाई मल्हमपट्टी लगाएका छन् । लामो खँडेरीका कारण आक्रान्त बनिरहेका बाराका किसानहरुका लागि सांसद श्रेष्ठले आफ्नै खर्चमा नहर सफा गरिदिएका हुन् ।

    सांसद श्रेष्ठका अनुसार उक्त नहरबाट बाराको फेटा र बिश्रामपुर गाउँपालिकाका अधिकांंश वडाका किसानहरुलाई केही हदसम्म राहत पुग्ने छ । उक्त नहर सफाईका लागि नारायणी सिँचाई आयोजनालाई पटक पटक गुहार्दा बजेट अभावका कारण नहर सफा गर्न नसक्ने भनेपछि आफू नै सक्रिय हुनुपरेको उनको भनाई छ ।

    ‘नहर सफा गर्नका लागि नारायणी सिँचाई कार्यालयलाई पटक–पटक ताकेता गर्दा बजेट अभावका कारण नहर सफा गर्न नसक्ने जवाफ आइरह्यो,’ उनले भने, ‘ म पनि यहाँको माननीय हुँ जनतालाई संकट पर्दा डिलमा बसेर टुलुटुलु हेरिरहन मेरो मनले मानेन । त्यसैले मैले आफ्नै पहल र खर्चमा नहर सफा गरेको छु ।’

    साथै, सांसद श्रेष्ठले जनता यति ठूलो खँडेरीको मारमा पर्दासमेत तीन तहकै सरकारबाट राहत नपाएको बताए । ‘तीनै तहका सरकार जनताको पीडामा रमिते बनिरहेका छन्,’ उनले भने, ‘संकटका बेला सरकारको साथ नपाउनु जनताको बिडम्बना हो ।’

    सरकारले गत साउन ७ गते मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेपनि जनताले भने राहत नपाएको उनको भनाई छ । (लोकपथबाट)