


काठमाडाै, २९ भदाै । निवर्तमान मन्त्री भगवती न्याैपानेले आफूले गरेका हरेक काम डायरीमा लेखेकाे र जेनजी आन्दाेलनका क्रममा उक्त डायरी जलेपनि निष्ठा र इमान्दारीपूर्वक गरेकाे काम नजल्ने बताएकी छन् ।
आइतबार सामाजिक सञ्जालमा न्याैपानेले मन्त्री पदबाट हटेपछि आफ्नो डायरीमा आधारित भएर ‘एक मन्त्रीको डायरी’ कृति प्रकाशित गर्ने योजना बनाएपनि उक्त डायरी जलेकाे भन्दै थपिन्, ‘तरभदौ २४ को आगजनीमा मेरो त्यो डायरी जल्यो । डायरी जले पनि मैले निष्ठा र इमानदारीपूर्वक गरेको काम जलेको छैन, मैले मन्त्रालयमा बसेर देश र जनताको दीर्घकालीन हितमा थालेको काम जलेको छैन । मुख्य कुरा, मेरो निष्ठा र इमान जलेको छैन, जनताप्रतिको समर्पण जलेको छैन । आगोले इमान जल्दैन । आगोले आस्था ढल्दैन ।
उनले भनेकी छन् –
आत्मा साक्षी राखेर, आफ्नो इमान जमान साक्षी राखेर, सारा नेपाली र आफ्नो पार्टी पंक्तिलाई साक्षी राखेर, मेरो प्यारो जन्म जिल्ला तनहुँबासीलाइ साक्षी राखेर आज म ह्रदयदेखि केही कुरा लेख्दैछु । भदौ २३ र २४ गते ज्यान गुमाउनुभएका प्रिय भाइबहिनी सहित सबै नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यी कुरा लेखिरहेकी छु ।मन्त्री नियुक्त भएपछि मैले भीष्मप्रतिज्ञा भन्दा ठूलो र कठोर रुपमा पालना गर्ने गरी केही संकल्प गरें । डायरीमा लेखें । संकल्प गर्नु ठूलो कुरा होइन, संकल्पमा दृढ रहनु मुख्य कुरा हो । मैले के संकल्प गरें भने म लोभ र लाभमा फस्दिनँ, कुनै हालतमा फस्दिनँ । मैले आफ्नो राजनीतिक भविष्य सोचें । मैले निर्णय गरें, म आफ्नो राजनीतिक भविष्यको चिन्ता गर्दिनँ, राजनीतिक भविष्यको चिन्ता गरेपछि लोभ र लाभमा फस्नुपर्छ । यही चिन्तनको जगमा उभिएर मैले संकल्प गरें, मलाई लोकप्रिय मन्त्री बन्नु छैन, मलाई भाइरल मन्त्री बन्नु छैन । किनभने लोकप्रिय बन्न खोज्दा कठोर र देशको दिर्घकालीन हितको निर्णय लिन सकिँदैन ।नेपालमा राजनीतिकर्मीहरुमा भाइरल बन्ने, सडकमा पपुलर देखिने रोग सल्किएको छ, खलनायक नियत भएका मानिसहरु पनि सडकमा नायक जस्तो देखिने गरेका छन । असल देखिन किन अतिरिक्त मेहेनत गरौं ? खराबले पो असल देखिन मेहेनत गर्नुपर्छ, बेइमानले इमानदार देखिन मेहेनत गर्नुपर्छ । त्यसैले अतिरिक्त मेहेनत गरेर समय खेर फाल्न पर्दैन भन्ने लाग्यो । अठोट गरें, मलाई भाइरल मन्त्री बन्नु छैन । मैले यो पनि देखिसकेको थिएँ, मन्त्री बनेर काम केही नगर्ने, कुरा बढि गर्ने अनि केही फाट्टफुट्ट काम गरेर सोसियल मिडियामा मार्केटिङ गर्ने । मैले यस विपरितको बाटो रोजें ।मैले कठोर बाटो रोजें । मलाई के लाग्यो भने मैले आफ्ना संकल्पहरुको केही झलक अहिले नै जनता समक्ष राख्नुपर्छ । त्यही भएर सपथ लगत्तै आफ्ना केही संकल्प सार्वजनिक रुपमा प्रस्तुत पनि गरें ।मैले विचौलिया तन्त्रबाट टाढा बस्ने मात्र होइन, त्यसलाई समाप्त पार्ने अठोट गरें । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरुवा मन्त्रालय पनि भन्छन् । सरुवा गर्न र थमौति गर्न फोन तारन्तार आइरह्यो, जो भेट्न आए पनि सरुवा र थमौतिकै लागि आउने । मैले सबैलाई भनिदिएँ— सरुवाको मापदण्ड बन्दैछ, त्यो मापदण्ड अनुसार मात्र सरुवा हुन्छ, तपाईंले अहिले गरेको भनसुनको कुनै अर्थ छैन । मैले सबैलाई यही कुरा भनें, धेरैजना रिसाउनुभयो होला, रिसाए रिसाउनुस्, कसैलाई पनि खुसी नपार्ने, प्रणाली र पद्धति स्थापित गर्ने मेरो संकल्प थियो । व्यक्तिव्यक्तिलाई खुसी नपार्ने, देशलाई खुसी पार्ने मेरो संकल्प थियो । तपाईंहरुलाई खुसी पार्न आफ्नो संकल्प तोड्न म सक्दिनथें । मन्त्रालयमा मैले काम थालेपछि गहिरो अध्ययन गर्न थालें । अध्ययन गर्दा के देखें भने कर्मचारीतन्त्रभित्र ठूलो विभेद छ, असमानता छ, अन्याय छ । कोही वर्षांैदेखि दुर्गममा बसेका छन्, कोही काठमाडौंमा बिना काम तलब खाएर हल्लिएर बसेका छन् । मैले यहीँबाट अप्रेशन गर्न थालें । एउटा मापदण्ड बनाएँ र प्रधानमन्त्रीज्यूलाई देखाएँ,वहाँले गो अहेड भन्नुभयो । मैले देखें, वेथिति र भ्रष्टाचारको एउटा कारण निमित्त प्रशासक पनि रहेछ । मैले देशभरीका पालिकालाई निमित्त प्रमुख विहिन बनाउने निर्णय गरें । यो निर्णयलाई उल्टाउन जति धेरै दवाब आयो उति धेरै म आफ्नो निर्णयमा अडिग रहें । मैले निर्णय कार्यान्वयनमा लगें । एक खाले तत्वबाट निर्णयको प्रतिरोध भयो, कुनै हालतमा निर्णयबाट पछाडि हट्दिनँ भनेर सार्वजनिक अडान लिएँ । अन्ततः नेपालको इतिहासमा पहिलो पटक निमित्तले कार्यालय चलाउने विकृति अन्त्य भयो । स्थानीय तहका लागि गरिएको यो निर्णय अन्य निकायका लागि पनि नजीर बन्न थाल्यो । एउटा ठूलो सुधार गर्न सकेकोमा मलाई सन्तोष भयो । आम जनता र देशभरका मिडियाबाट पनि ठूलो समर्थन मिल्यो । मैले त्यो रात डायरीमा लेखें, आजबाट मैले कार्यालयहरुलाई निमित्त विहिन बनाउने निर्णय कार्यान्वयनमा लगें, यसबाट धेरै मानिस रिसाएका होलान् तर देशका लागि यो ठूलो उपलब्धी हो । त्यसपछि भटाभट निर्णय गर्दै गएँ, कार्यान्वय गर्दै गएँ । यो क्रममा मैले कर्मचारीतन्त्रमा रहेको भयानक भ्रष्टतन्त्र पनि देखें, असाध्यै इमानदार र कर्तव्यनिष्ठ कर्मचारी पनि देखें । देशको हितमा असाध्यै ठूलो महत्व राख्ने केही काम पहिचान गरेर त्यसलाई कार्यान्वयनमा लैजान टास्कफोर्स बनाएँ, युद्धस्तरमा काम गर्न लगाएँ । केही ऐतिहासिक कामहरु अन्तिम चरणमा पुगेका थिए, अब आउने मन्त्रीले त्यो काम गर्नुपर्छ । सरुवामा चक्रीय प्रणाली लागू गर्न सफ्टवेयर बनाउने र कार्तिक पहिलो हप्तामा लञ्च गर्ने गरि अधि बढ्दै थिएँ , छोटो समयमा नै निजामती प्रशासनमा आमूल परिवर्तन गर्ने योजना बनाएँ । मन्त्रालयका सचिव , सहसचिवहरु सहितलाई राखेर योजना सुनाएँ र यही अनुसार अगाडि बढ्न भनें सबैले मन्त्री ज्युको योजनालाई सफल बनाउन हामी पूर्ण रुपले लाग्नेछौं भनेर प्रतिबद्धता जनाउनु भयो ।
मेरो परिवार एवम् आफन्तजनबाट पाएको ढाडसले मलाई उर्जा दिईरह्यो । पार्टीका नेता अनि सम्पूर्ण शुभचिन्तकको सल्लाह सुझावले मलाई जोश थपिरह्यो । हरेक काम मैले डायरीमा लेख्दै गएँ। मन्त्री पदबाट हटेपछि आफ्नो डायरीमा आधारित भएर ‘एक मन्त्रीको डायरी’ कृति प्रकाशित गर्ने योजना बनाएँ । तरभदौ २४ को आगजनीमा मेरो त्यो डायरी जल्यो । डायरी जले पनि मैले निष्ठा र इमानदारीपूर्वक गरेको काम जलेको छैन, मैले मन्त्रालयमा बसेर देश र जनताको दीर्घकालीन हितमा थालेको काम जलेको छैन । मुख्य कुरा, मेरो निष्ठा र इमान जलेको छैन, जनताप्रतिको समर्पण जलेको छैन । आगोले इमान जल्दैन ! आगोले आस्था ढल्दैन !!