


दमौली, २९ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-५ चापाघाटमा असोज २४ गते भएको सवारी दुर्घटनाका घाइतेको मङ्गलबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका-५ बस्ने ४१ वर्षीय तीर्थबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नेपालीलाई मङ्गलबार राति पोखरास्थित गण्डकी मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दमौलीबाट थर्पु तर्फ जाँदै गरेको बिएए ०५३३ नम्बरको स्कोरपियोमा सोही दिशातर्फ जॉदै गरेको ग १ त ५३४२ नम्बरको पावर टिलर ठोक्किदा पावर टिलर चालक नेपाली घाइते भएका थिए।
उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो। सामान्य उपचार पश्चात् नेपाली सोही दिन डिस्चार्च भएको प्रहरीले जनाएको छ। सोही दिन दुवै पक्ष प्रहरी कार्यालय पुगेर कागज गरेका थिए । नेपाली थप उपचारका लागि पोखरा गएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।