


दमाैली, २५ कात्तिक । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले ७२ वर्षका केपी ओलीलाई हटाएर ७३ वर्षका सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजी आन्दोलन नभएको जिकिर गरेका छन् । राप्रपा शुक्लागण्डकीले मङ्गलबार दुलेगौडामा गरेको आम भेलामा बोल्दै उनले अहिलेको सरकारले स्थायीत्व दिन नसक्ने उल्लेख गरे ।
उनले भने, “अहिले अन्योल अवस्था सिर्जना भएको छ ।यो सरकारको वैधानिकता के हो ? के हो सरकार जनताबाट निर्वाचित हो त? संसदबाट निर्वाचित हो त ? कोही टेलिभिजन चलाएर बस्याथे, कोही ल फर्म चलाएर बस्याथे, कोही सरकारको पेन्सन खाएर बस्याथे उनीहरु सत्तामा आएका छन् ।”
भ्रष्टाचार र बेथितीका विरुद्धमा युवाहरुले आवाज उठाएको र अहिलेको सरकार सुशासन कायम गर्न जनताले चुनेका हुन् भनेर भन्न सकिने अवस्था नरहेको शाहीले बताए । देशमा सुशासन, भ्रष्टाचार अन्त्यका लागि आन्दोलन भएपनि आन्दोलनको मर्म अनुसार सरकार नबनेको उनको आरोप थियो ।
उनले भने, “युवाको बलिदानी खेर जान दिन हुँदैन । सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ । यो देशको प्रमुख तीन शक्ति युवा, राजनीतिक दल र राजनीतिक संस्था हुन् । उनीहरुबीच गोलमेल सम्मेलन गरौ भनेर राप्रपाले प्रस्ताव गरेको हो ।”
