


दमौली, १० माघ। तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका मन्जिल रानाले उज्यालो नेपाल पार्टीको विचार र कुलमान घिसिङको “बत्ती” प्रतीकबाट प्रेरणा लिएर नयाँ ऊर्जा, इमानदारी र समाधानमुखी नेतृत्वको सन्देश फैलाउने प्रतिबद्धता जनाएका छन्।
उनले अवसर नपाएर थलिएका सपना, रोजगारीका लागि विदेशिन बाध्य युवाहरू र आफ्नै पसिनाको उचित मूल्य नपाएका किसानहरूको पीडालाई नजिकबाट देखेको अनुभव सुनाए। यही अनुभूतिको आधारमा करिब १५ वर्षदेखि “माया स्कूल” सञ्चालन गर्दै आएको उल्लेख गर्दै, शिक्षा हरेक नेपालीको अधिकार हो भन्ने विश्वासलाई व्यवहारमा उतार्दै आएको बताए। गुणस्तरीय र सुलभ शिक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको भनाइ छ।
ग्रामीण क्षेत्रको सम्भावनालाई उजागर गर्दै उनले तनहुँलाई काठमाडौं, चितवन, गोरखा र पोखराको बीचमा रहेको अपार सम्भावनाको केन्द्रका रूपमा प्रस्तुत गरेका छन् । गाउँ र संस्कृतिलाई विश्वसामु नयाँ रूपमा चिनाउने, ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा पुनःब्रान्ड गर्ने र आइतबारलाई समेत सार्वजनिक बिदा बनाएर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने प्रस्ताव उनले अघि सारेका छन् ।
उनले विकासलाई केवल भौतिक संरचनासँग मात्र सीमित नराखी दायित्व र उत्तरदायित्वसँग जोडेर हेर्नुपर्ने धारणा राखे। स्थानीय समुदायको सहभागिता बिना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै, वातावरणीय रूपमा जिम्मेवार र जलवायु परिवर्तनप्रति सचेत विकास मोडेल आवश्यक रहेको बताए। विश्व तापक्रम वृद्धिको असर नेपाली जनजीवनमै देखिन थालेको उनको भनाइ छ।
कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा प्रस्तुत गर्दै उनले किसानले आफ्नै उत्पादन ब्रान्ड गर्न र बजारमा सिधै पहुँच पाउनुपर्ने जोड दिए। आफ्नै कागती खेतीको अनुभव उल्लेख गर्दै, बिचौलियाको कारण किसानले उचित मूल्य नपाउने समस्या औंल्याए।
