


१. आमनिर्वाचन २०८२
आमनिर्वाचन यस अघि २०७९ मङ्सिरमा भएको र पाँच वर्षीय कार्यकाल समाप्त हुने आवधिक निर्वाचनको आगामी समय २०८४ मा थियो। तर नयाँ पुस्ताको भाद्र २३ र २४ को विद्रोहले नयाँ परिस्थिति सिर्जना भयो र २०८२ फागुन २१ गते मध्यावधि निर्वाचन सम्पन्न भइसकेको छ। यस निर्वाचनले २००७ सालदेखि संविधानका आधारभूत मूल्य मान्यता स्थापनाका लागि संघर्ष गर्दै आएका राजनीतिक दलहरु किनारामा परेको र आफ्नो स्थापना कालको ३ वर्षमै नेपाली समाजको असन्तुष्टि र विश्व राजनीतिक प्रभावलाई प्रयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी २७५ सदस्य रहेको प्रतिनिधि सभामा १८२ प्रतिनिधि निर्वाचित गरी प्रचण्ड बहुमत हासिल गरेको छ। नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, ने.क.पा.- १७, श्रम संस्कृति पार्टी- ७, राप्रपा ५, स्वतन्त्र १ प्रतिनिधिहरू निर्वाचित भएका छन्। यहि यथार्थतालाई आत्मसाथ गरी नेपालको आगामी दिनमा संविधानवाद का आधारभूत मूल्य मान्यता अझ सबल बन्दै जाला कि कमजोर हुँदै जाला भन्ने मूल्याङ्कन नेपाली समाजले गर्नेछ ।
२. संविधानवादका आधारभूत मान्यता
जुनसुकै देश र शासन प्रणाली सञ्चालन गर्न संविधान निर्माण भएकै हुन्छ। तर ती संविधानले संविधानवादका आधारभूत मूल्य मान्यता समेटेको छ कि छैन त्यसलाई हेर्नुपर्ने हुन्छ। जनताको चाहनाले शासक छान्न पाउने आवधिक निर्वाचन स्वतन्त्र न्यायपालिका, विधिको शासन, आधारभूत मौलिक हक अधिकारको प्रत्याभूति संविधान भित्र हुनुपर्दछ। नेपालको शासकीय प्रणालीमा संघीय गणतन्त्रात्मक संसदीय पद्धति स्थापित छ। नेपाली समाजमा संसदीय पद्धतिका विरुद्ध अनेक कोणहरूबाट आवाज उठिरहेका छन् । विद्यमान संविधानलाई परिमार्जित गरी अझ परिस्कृत गर्ने कि पछाडि फर्कने भन्ने आगामी दिनहरूमा स्पष्ट हुँदै जानेछ। विद्यमान प्रतिनिधि सभाको संरचनाले रा.स्व.पा. लाई संविधान संशोधन वा परिमार्जन प्रारम्भ गर्ने अवसर प्राप्त भएतापनि अन्य राजनीतिक दलसँगको सहकार्य बिना संविधान परिमार्जन हुने अवस्था देखिदैन। भाद्र २३ र २४ को विद्रोहको माग सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हुन नहुने भनेकै थियो यसबाट के स्पष्ट हुन्छ भने नागरिकको स्वतन्त्रतालाई संकुचन गर्नु सरकार सञ्चालकहरुलाई घातक हुन्छ। आम निर्वाचन २०८२ ले जनता द्वारा निर्मित संविधान पुन ट्रयाकमा आएको छ। यो लोकतन्त्रको प्रतिको विगतको आन्दोलनको सफलता हो।
३. सरकार सञ्चालन र सम्भावित खतरा
जुनसुकै आवधिक निर्वाचनले चयन गर्ने सरकार प्रमुखहरुलाई नागरिकका बीचमा निर्वाचन जित्न गरिएको सम्भव असम्भव वाचापत्र, घोषणापत्र, करारनामा, प्रतिज्ञापत्र कार्यान्वयन गर्ने चुनौती रहन्छ। सरकार बहुमतको भएपछि सरकारको संरचनात्मक चुनौती नरहे पनि सरकार सञ्चालनका अनेक तत्वहरुले प्रभाव पारिरहेको हुन्छ। त्यस्ता प्रभावहरू आन्तरिक र बाह्य कारणहरू हुन्छन् । त्यस्ता आन्तरिक र बाह्य प्रभावहरूले सत्तामा रहेका शक्तिशाली भनिएका व्यक्तिहरूलाई काम गर्न कठिनाइ सृजना हुनसक्दछ ।
क) आन्तरिक प्रभाव
नेपालको वर्तमान सन्दर्भमा हेर्दा आन्तरिक कारणहरू पार्टीगत एकता, स्वार्थ समूहहरूको दबाव, आर्थिक स्रोतको अभाव, विपक्षी दलहरूको खबरदारी, खुला राजनैतिक पद्धतिमा परिरहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको विधिवत अधिवेशन आजका मितिसम्म भएको छैन । अधिवेशनमा व्यक्तिहरूको टकराव हुन सक्दछ हाल निर्वाचित प्रतिनिधि सभाका अधिकांश सदस्यहरु पुराना राजनीतिक दलका सदस्यहरु नै देखिन्छ, विज्ञ क्षेत्रका केही, ने.का., एमाले लगाएत मधेशवादी दलका स्कुलिङवाट आएका प्रतिनिधीहरु छन् । रा.स्व.पाको मूल राजनैतिक सिद्धान्त के हो ? नेपाली जनताले भेउ पाइसकेका छैनन् । तसर्थ राजनैतिक दल सञ्चालन, सरकार सञ्चालनमा भिन्नभिन्न स्कुलिङबाट आएका प्रतिनिधिहरूलाई न्यायपूर्ण व्यवस्थापन गर्न मुख्य नेताहरुलाई कठिन हुन सक्दछ। हिजो नेपाली कांग्रेसमा आएको समस्याले २०५१ सालमा मध्यावधि निर्वाचन भयो गिरिजा वावुको सरकार गयो। २०७४ को निर्वाचन पछाडि बनेको केपी ओली सरकार गयो। तसर्थ आन्तरिक हार्दिक एकता सत्ताधारी दलहरूसँग टुटेपछि मध्यावती निर्वाचन हुन सक्ने सम्भावना रहिरहन्छ। रास्वपा भित्र सर्वमान्य नेताको आकार कसैले लिएको देखिँदैन। बिस्तारै सरकार सञ्चालन र दल सञ्चालनका बीच सम्बन्ध बिग्रिदै जान सक्दछ नेपाली समाजमा निहित स्वार्थ भएका तत्त्वहरू डेरासरी रहन्छन् उनैले घरबेटीको पहिचान कमजोर वनाउन सक्दछन् ।
अर्को आन्तरिक कारणमा समाजमा अनेक स्वार्थ समूहहरू हुन्छन् । शिक्षक, विद्यार्थी, कर्मचारी, व्यापारी, उद्योगी, किसान, मजदुर, सुकुम्बासी, बेरोजगारी, जातीय, धार्मिक, क्षेत्रीय भिन्नभिन्न राजनीतिक दल लगायत अनेक समूहका आआफ्ना स्वार्थ (Interest) हुन्छन् र त्यही अनुसार आफ्ना स्वार्थ पूरा गर्ने मागहरु उठाइरहन्छन् । त्यस्ता स्वार्थहरुलाई सम्बोधन गर्न सरकारमा दबाब परिरहेको हुन्छ एउटा समूहको स्वार्थ पूरा गर्दा अर्को समूहलाई व्यवस्थित गर्न र मागलाई सम्बोधन गर्न आर्थिक क्षमता आवश्यक पर्दछ । तसर्थ सरकार सञ्चालन गर्न आन्तरिक कारणहरूको विश्लेषण गर्न र नागरिकलाई बुझाउन सकिएन भने सरकारमा हुनेहरुले परिवर्तित सत्ता सञ्चालनको पहिचान दिन कठिन हुन्छ
ख) बाह्य कारण
राजनैतिक यात्रामा सत्तामा पुग्नु सत्तामा जान प्रयत्न गर्नु स्वभाविक हुन्छ। तर सत्तामा पुगेपछि टिकी राख्न आन्तरिक कारणहरूको व्यवस्थापन र बाह्य कारणलाई मूल्याङ्कन एवं व्यवस्थापन गर्न ध्यान दिइरहनु पर्दछ। नेपाली समाज चलायमान छ पाकिस्तानमा २०३६ सालमाभुट्टोलाई फाँसी दिँदा यहाँ ३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रह भएको अनुभव ताजै छ। हाम्रो मुलुक भिन्न भिन्न राजनीतिक सिद्धान्त भएका र विश्व राजनीति एवं अर्थतन्त्रमा प्रतिस्पर्धामा रहेका भारत र चीनको बीचमा छ। अमेरिका र युरोपियन युनियन सम्बद्ध राष्ट्रहरूको पनि आफ्नै स्वार्थ छन् । रुस युक्रेन युद्ध हुँदा यहाँ खाद्यान्नको मूल्य वृद्धि, अमेरिका इरानको युद्धले तेलको भाउ वृद्धि लगायत अनेक असर भोगेका नेपालीको अनुभव छ । विभिन्न विश्व राजनीतिक परिवेशमा विश्वसनीय सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न सकेनौं भने सरकार सञ्चालनमा कठिनाइ सिर्जना हुन सक्छ ।
४. आगामी प्रदेश स्थानीय निर्वाचनका सम्भावनाहरू
अहिले देशैभरि रास्वपालाई आएको मत परिणामबाट आगामी प्रदेश र स्थानीय निर्वाचनमा पनि अन्य पार्टीको भविष्य राम्रो छैन भन्ने अहिले यत्रतत्र चर्चा छ। प्रदेश र स्थानीय सरकारमा रा.स्व.पा. को प्रतिनिधित्व छैन प्रदेश प्रतिनिधि र स्थानीय तह प्रमुख उपप्रमुखको कारणले राष्ट्रिय सभाका संरचनामा तलमाथि हुने संवैधानिक व्यवस्था छ। रास्वपा राष्ट्रिय सभामा पनि आफ्नो बर्चस्व कायम गर्न चाहन्छ। तसर्थ २० महिनापछि प्रदेश र करिब १४ महिनापछि हुने स्थानीय तहको निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ स्थानीय तहका अनेक पदमा भित्री सम्झौताहरु गरेर कतिपय स्वार्थ राखेर विभिन्न पार्टीका कार्यकर्ताहरु पार्टी परिवर्तन गरिरहेका छन् । रास्वपाले करिब एक वर्ष सरकार सञ्चालन गरेका अनुभवहरूले स्थानीय र प्रदेश तहको निर्वाचन प्रभावित हुनेछन् हरेक वडाबाट निर्वाचित हुने पाँच जना र पालिका प्रमुख उपप्रमुखको व्यक्तित्व स्थानीय समस्यालाई आत्मसाथ गर्न सक्ने, आफ्नो सुख दुःख बुझ्ने प्रतिनिधिको खोजी स्थानीय मतदाताले खोजेका हुन्छन् यही एक वर्षमा बाम्पन्थी पार्टीहरूका बीच एकता हुन सक्ने, मधेशवादी दलहरूका बीचमा पनि ऐक्यबद्धता हुन सक्ने, नेपाली कांग्रेसको महाधिवेशनबाट तलै देखि नयाँ नेतृत्व आउन सक्ने अनेक परिघटनाहरु हेर्न देख्न बाँकी नै छ । तसर्थ अहिलेको निर्वाचनले एक वर्षपछि हुने निर्वाचनलाई आकलन गर्नु त्यति परिपक्क हुने छैन ।
अन्तमा जनताको अभिमतलाई विश्वास गर्दै रचनात्मक कामबाट जनताको मत जित्ने प्रयत्नमा सबै राजनीतिक खेलाडीहरु लागि नै रहनेछन् । गाली गरेर मात्र जनमत बटुल्ने कामको अन्त्य भई नेपाली राजनीति इतिहास अगाडि बढ्दै जाओस् । जय नेपाल !!
लेखक नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति हुन् ।