


दमौली, १७ वैशाख । सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको एक भिडियोका आधारमा तनहुँमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा उजुरी परेको छ।
म्याग्दे गाउँपालिका–१ का मिनबहादुर चंदारो, व्यास नगरपालिका–१३ का विश्व बुडा परियार र व्यास–१ का विनु विश्वकर्माले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बिहीबार निवेदन दर्ता गराएका हुन्।
निवेदन अनुसार “दिपिका” र “ब्रदर्श डटकम” टिकटक एकाउन्टमार्फत सार्वजनिक भिडियोमा ब्रदर्श डटकमका सञ्चालक अशोकप्रसाद डौलियाले ग्राहकसँग जातीय भेदभाव झल्किने व्यवहार गरेको आरोप लगाइएको छ।
निवेदनमा जनाइए अनुसार चटपटको स्वादप्रति असन्तुष्टि व्यक्त गरेपछि ती ग्राहकहरूप्रति अपमानजनक व्यवहार गरिएको र ‘दमै, कामी, सार्की’ जस्ता शब्द प्रयोग गरिएको दाबी गरिएको छ। साथै, सामाजिक सद्भाव खल्बलिने खालका अभिव्यक्ति दिएको भन्दै निवेदकहरूले गम्भीर आपत्ति जनाएका छन्।
निवेदनमा उल्लेख भएअनुसार, उक्त घटनाले दलित समुदायलाई मर्माहत बनाएको र मानसिक असर समेत परेको जनाइएको छ।
निवेदकहरूले नेपालको संविधान तथा “जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८” विपरीत कार्य भएको भन्दै आरोपी अशोकप्रसाद डौलियालाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न र कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
यता चटपट सञ्चालक डाैलियाले भने आफूले जातीय विभेद नगरेकाे बताएका छन् । आफू जातीय विभेदकाे विरुद्धमा रहेकाे भन्दै उनले आफूले त्यस्ताे साेच्न पनि नसक्ने बताएका छन् । उनले आफ्नै पसलमा दलित समुदायका व्यक्तिहरुले नै राेजगारी पाइरहेकाे बताएका छन् ।