


दमाैली, २७ वैशाख। जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषको उपाधि तनहुँ र महिलाको उपाधि म्याग्दी जिल्लाले जितेको छ ।
व्यास नगरपालिका–३ खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा पर्वतलाई पराजित गर्दै तनहुँले उपाधि जितेको हो । तनहुँले पर्वतलाई ३–१ सेटले पराजित गरेको छ ।
यस्तै पुरुषअन्तर्गत नवलपुर तेस्रो भएको छ । नवलपुरले गोरखालाई ३–१ सेटले पराजित गरेको थियो ।
महिलातर्फ कास्कीलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको छ । म्याग्दीले कास्कीलाई ३–१ सेटले पराजित गरेको थियो ।
यस्तै पर्वत जिल्ला तेस्रो भएको छ । पर्वतले तनहुँलाई पराजित गरेको छ ।
उपाधिसँगै दुवै टिमका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको थियो ।
विजेतालाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले पुरस्कार वितरण गरेका छन् ।