


चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत चार वर्षमा पार्टीले सोचेअनुरूप काम गर्न नसकेको स्वीकार गर्दै कमीकमजोरीहरूलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले अब पार्टी थप परिपक्व बन्ने दाबी गरे। पार्टीको साङ्गठनिक यात्राको समीक्षा गर्दै सभापति लामिछानेले महाधिवेशनसम्म आइपुग्दा धेरै पाठ सिकेको बताए।
‘विगत चार वर्षमा हामीले भनेअनुसार धेरै काम गर्न सकेनौँ, हाम्रा कमीकमजोरीहरू यो महाधिवेशनको प्रक्रियासम्म देखियो,’ लामिछानेले भने, ‘यी सबै कमीकमजोरीहरूलाई हामीले सच्याउनुपर्छ। अब हामी अझ बढी परिपक्व हुन्छौँ।’
उनले आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले वडादेखि प्रदेश तहसम्मका सबै अधिवेशनहरूमा आफूलाई टाढा राख्ने प्रयास गरेको सुनाए।