


व्यास नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूको शैक्षिक अवस्था अध्ययन गर्दा उनीहरू विभिन्न प्रकारका शारीरिक, बौद्धिक,दृष्टिबिहिन तथा बहुअपाङ्गताका कारण फरक–फरक चुनौतीहरूको सामना गरिरहेका भए पनि विद्यालय शिक्षामा निरन्तर सहभागी भइरहेको अवस्था देखिएको छ। विद्यालय, अभिभावक तथा स्थानीय तहको सहयोगका कारण अधिकांश विद्यार्थी नियमित रूपमा विद्यालय उपस्थित हुने गरेका छन्। तथापि, उनीहरूको आवश्यकता र क्षमताअनुसार थप शैक्षिक तथा सहयोगात्मक सेवाको आवश्यकता स्पष्ट रूपमा देखिएको छ।
स्थलगत अध्ययनका क्रममा देउराली प्राथमिक बिधालय, जनजुक्त शाही माध्यमिक बिधालय, अमर प्राथमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, बेदब्यास प्राथमिक विद्यालय, सिद्धेश्वरी माध्यमिक विद्यालय, शिव माध्यमिक विद्यालय तथा अन्य सामुदायिक विद्यालयहरूमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई शिक्षकहरूले व्यक्तिगत रूपमा सिकाइ सहजीकरण गर्ने, चित्र, खेल, दृश्य सामग्री तथा व्यवहारिक विधिको प्रयोग गरी शिक्षण गर्ने, आवश्यकतानुसार अतिरिक्त समय दिने तथा समावेशी वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराएको पाइयो। केही विद्यालयहरूले विद्यार्थीको अवस्थाअनुसार कुर्सी, बसाइ व्यवस्थापन तथा कक्षाकोठाभित्र आवश्यक सहजीकरण पनि गरेका छन्।
धेरै विद्यार्थी विद्यालय आवतजावतका लागि अभिभावकमा निर्भर रहेको, केही विद्यार्थी व्हिलचियर प्रयोग गर्ने, केहीलाई हिँडडुल गर्न कठिन हुने, केहीलाई हातले लेख्न नसक्ने तथा केही बौद्धिक अपाङ्गताका कारण अतिरिक्त शैक्षिक सहयोग आवश्यक पर्ने अवस्था देखिएको छ। यस्ता विद्यार्थीका लागि व्यक्तिगत सिकाइ योजना, विशेष शिक्षण सामग्री, सहायक उपकरण, सहयोगी व्यक्ति, पुनर्स्थापना सेवा तथा नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको देखिन्छ।
व्यास नगरपालिका शिक्षा शाखाबाट उपलब्ध गराइँदै आएको शैक्षिक छात्रवृत्तिले अपाङ्गता भएका विद्यार्थीहरूको विद्यालय शिक्षामा निरन्तरता कायम राख्न सहयोग पुर्याएको छ। साथै विद्यालय, अभिभावक, स्थानीय तह तथा सम्बन्धित निकायबीचको समन्वयले समावेशी शिक्षालाई थप प्रभावकारी बनाउन सकारात्मक भूमिका निर्वाह गरिरहेको छ।
समग्रमा, अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता अनुसार अपाङ्गतामैत्री भौतिक पूर्वाधार, पहुँचयुक्त शौचालय, सहायक सामग्री, शिक्षकको क्षमता अभिवृद्धि, व्यक्तिगत सिकाइ योजना, नियमित स्वास्थ्य सेवा तथा पुनर्स्थापना कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ। यी सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराउन सकेमा अपाङ्गता भएका विद्यार्थीहरूको शैक्षिक उपलब्धि, आत्मनिर्भरता, आत्मविश्वास तथा सामाजिक सहभागितामा उल्लेखनीय सुधार आउने अपेक्षा गर्न सकिन्छ।