


काठमाडौं, ३० असार । सन् २०२६ फिफा विश्वकप अन्तिम चरणमा पुगेसँगै प्रतियोगितामा बाँकी रहेका चार टोलीका सबैभन्दा प्रभावशाली खेलाडीहरूको सूची सार्वजनिक भएको छ। खेलकुद म्यागजिन स्पोर्ट्स इलस्ट्रेटेडले सेमिफाइनल खेलअघि फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ग्ल्यान्डका खेलाडीमध्ये सबैभन्दा ठूलो खतरा बन्न सक्ने आठ खेलाडीको वरियताक्रम सार्वजनिक गरेको हो।
सूचीको शीर्ष स्थानमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी रहेका छन्। ३९ वर्षको उमेरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका मेस्सीले यस विश्वकपमा आठ गोल गरिसकेका छन्। प्रतियोगिताको सुरुआती खेलमै ह्याट्रिक गरेका उनले उमेर केवल अंक मात्र भएको प्रमाणित गरेको विश्लेषणमा उल्लेख छ।
स्पोर्ट्स इलस्ट्रेटेडका अनुसार इजिप्टविरुद्ध अर्जेन्टिनालाई ऐतिहासिक पुनरागमन जित दिलाउन पनि मेस्सी नै निर्णायक बनेका थिए। उनी यस विश्वकपमा गोल्डेन बुटका लागि फ्रान्सका किलियन एमबाप्पेसँग प्रतिस्पर्धामा छन्।
दोस्रो स्थानमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे रहेका छन्। एमबाप्पेले सन् २०१८, २०२२ र २०२६ गरी तीन विश्वकपमा २० खेल खेल्दै २० गोल गरेका छन्। यस विश्वकपमा उनले आठ गोल र तीन असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थान कायम राखेका छन्। फ्रान्स स्पेनलाई पराजित गर्दै फाइनल पुग्न सफल भए त्यसको मुख्य श्रेय एमबाप्पेलाई जाने विश्लेषण गरिएको छ।
तेस्रो स्थानमा इङ्ग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घम छन्। क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्याएका बेलिङ्घमले त्यसअघि मेक्सिकोविरुद्ध पनि दुई गोल गरेका थिए। कठिन अवस्थामा टोलीका उद्धारकर्ता बनेका उनी अर्जेन्टिनाविरुद्ध पनि इङ्ग्ल्यान्डका मुख्य आशा मानिएका छन्।
इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन चौथो स्थानमा छन्। सन् २०१८ का गोल्डेन बुट विजेता केनले यस विश्वकपमा छ गोल गरिसकेका छन्। डीआर कङ्गोविरुद्ध दुई गोल गर्दै टोलीलाई नकआउट चरण पार गराएका उनी अर्जेन्टिनाको रक्षापंक्तिका लागि ठूलो चुनौती बन्न सक्ने उल्लेख गरिएको छ।
स्पेनका युवा स्टार लामिन यामाल पाँचौं स्थानमा परेका छन्। ह्यामस्ट्रिङ चोटका कारण पूर्ण लयमा नरहे पनि उनी अझै पनि विपक्षीका लागि ठूलो खतरा रहेको विश्लेषण गरिएको छ। विपक्षी टोलीले उनलाई लगातार दोहोरो घेराबन्दीमा राखे पनि अवसर पाए खेलको परिणाम बदल्न सक्ने क्षमता उनीसँग रहेको जनाइएको छ।
फ्रान्सका मिडफिल्डर माइकल ओलिसे छैटौं स्थानमा छन्। फ्रान्सको आक्रमण निर्माण गर्ने मुख्य खेलाडीका रूपमा उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्। मोरक्कोविरुद्ध कडा निगरानीमा रहे पनि उनले लगातार आक्रमण सिर्जना गरेका थिए।
फ्रान्सकै विङ्गर उस्मान डेम्बेले सातौं स्थानमा परेका छन्। विश्वकपअघि राष्ट्रिय टोलीका लागि गोल गर्न संघर्ष गरेका डेम्बेलेले यस संस्करणमा उत्कृष्ट पुनरागमन गर्दै समूह चरणमा ह्याट्रिकसहित क्वार्टरफाइनलमा पनि निर्णायक गोल गरेका छन्।
स्पेनका अनुभवी मिडफिल्डर मिकेल मेरिनो आठौं स्थानमा छन्। उनी स्पेनका ‘सुपर सब’का रूपमा चिनिएका छन्। क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध मैदान प्रवेश गरेको दुई मिनेटमै विजयी गोल गरेका मेरिनोले त्यसअघि पोर्चुगलविरुद्ध पनि इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।
विश्वकप सेमिफाइनलमा मंगलबार फ्रान्स र स्पेन आमनेसामने हुनेछन् भने बुधबार अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। यी चार टोलीका स्टार खेलाडीको प्रदर्शनले नै विश्वकपको उपाधि यात्राको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
https://www.fotmob.com/embed/news/01kxegrev0bc/ranking-major-threats-2026-world-cup-semifinals याे लिङ्ककाे सहयाेगमा तयार पारिएकाे समाचार