


क्यानडा, २ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आईसीसीको सल्लाहकार मनोनित भएका छन् ।
लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हित, संस्थागत विकास तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका घिमिरेको नेतृत्व, समर्पण र संस्थाप्रतिको निरन्तर योगदानले एनआरएनएलाई अझ सुदृढ, प्रभावकारी र एकताबद्ध बनाउने एनआरएन नेतृत्वले अपेक्षा गरेको जनाएको छ ।
एनआरएनएमा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका घिमिरेले क्यानडामा पनि नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक संस्थासँग सहकार्य गर्दै अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाली समुदायलाई एकताबद्ध बनाउने, नयाँ पुस्तालाई समुदायसँग जोड्ने तथा सामाजिक सेवामार्फत समुदायको हितमा निरन्तर सक्रिय रहँदै आएको उनको योगदानलाई क्यानडास्थित नेपाली समुदायले उच्च मूल्यांकन गर्दै आएको छ।
त्यसैगरी, क्यानडाको मूलधारको राजनीतिमा पनि उनको सक्रिय सहभागिता रहँदै आएको बताइन्छ। विशेषगरी लिबरल पार्टीसँग आबद्ध रहँदै सामुदायिक सहभागिता र नेतृत्वमार्फत उनले आफ्नो उपस्थिति स्थापित गरेका छन्। यसले नेपाली मूलका समुदायका सदस्यहरू पनि क्यानडाको राजनीतिक नेतृत्वमा थप सक्रिय हुने सम्भावना बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।